साताको चौथो दिन नेप्सेमा सुधार, कारोबार रकममा भने कमी
काठमाडौं, ११ मंसिर । पछिल्लो केही समययता लगातार ओरालो लागेको सेयर बजारमा साताको चौथो कारोबार दिन (बुधबार) भने सुधार देखिएको छ । हिजो ०.९१ अंकले घटेको नेप्से परिसूचक आज ८.३० अंकले वृद्धि भई १११७.४६ विन्दुमा रोकिएको छ । तर, हिजोको तुलनामा आज कारोबार रकममा भने झण्डै ८ करोड रुपैयाँले कमी आएको छ । मंगलबार २९ कारोड रुपैयाँको कारोबार भएकोमा आज घटेर २१ करोड २३ लाख रुपैयाँमा खुम्चन पुगेको हो ।
एक सय ६५ कम्पनीको ७ लाख ३८ हजार ४ सय ४६ कित्ता सेयर खरिद–विक्री भएको छ । त्यस्तै आज सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैंक लिमिटेडको भएको छ । उक्त बैंकको २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
सबैभन्दा बढी कमाउनेमा रिदी हाइड्रोपावर डेभलोप्मेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । आज रिदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पाेरेशनका लगानीर्ता रहेका छन् । साल्ट ट्रेडिङ्गको सेयर मूल्यमा ६.९२ प्रतिशतले गिरावट आएको छ ।
आज नेप्सेमा सूचिकृत १२ समूहमध्ये उद्योग समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी ११ समूहको उपसूचकमा वृद्धि देखिएको छ । उद्योग समूहको उपसूचकमा ५.२७ प्रतिशतले गिरावट आएको हो ।