Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

साँढे ४ वर्षमा सम्पदाको पुनर्निर्माण आधा सकियो, भ्रमण वर्षमा आउने पर्यटकलाई भत्किएकै सम्पदा देखाउनुपर्ने बाध्यता

साँढे ४ वर्षमा सम्पदाको पुनर्निर्माण आधा सकियो, भ्रमण वर्षमा आउने पर्यटकलाई भत्किएकै सम्पदा देखाउनुपर्ने बाध्यता

झरना कँडेल काठमाडौं, २६ मंसिर । भूकम्प गएको साढे ४ बर्ष वितिसक्दा पनि सम्पदा पुनर्निर्माणको कामले गति लिन सकेको छैन । यो अवधिमा काठमाडौं उपत्यकाकै सम्पदा पुनर्निर्माणको काम बल्ल आधा मात्र सकिएको छ।

वि.सं. ०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौं उपत्यकाका ७ वटा सम्पदाका १ सय ७८ वटा मन्दिर तथा विभिन्न साँकृतिक सम्पदाहरुमा क्षति पुगेको थियो । हनुमानढोका दरबार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, चाँगुनारायण, पशुपति , स्वयम्भुनाथ र बौद्धनाथ स्तुपा क्षेत्रका सम्पदामा ठुलो क्षति पुगेको थियो । ति क्षेत्रका क्षतिग्रस्त १ सय ७८ सम्पदामध्ये हालसम्म ९३ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै २८ वटामा पुनर्निर्माणको काम भइरहेको छ भने ५७ वटा सम्पदाको काम नै सुरु हुन सकेको छैन ।

क्षति पुगेका सम्पदाहरुमध्ये बौद्धनाथ क्षेत्रको मात्रै पुनर्निर्माण सकिएको छ । बौद्धनाथ क्षेत्रको पुनर्निर्माण सम्पन्न गर्न २३ करोड रुपैयाँ खर्च लागेको थियो ।

विभागका प्रवक्ता राम बहादुर कुँबरले पुनर्निर्माणको चौथो बर्षसम्म आईपुग्दा करिब ६० प्रतिशत कार्य सम्पन्न भएको बताए । केहि सम्पदा ठुला भएका कारण र अर्को सम्पदा पुरानैशैलीमा बनाउन लागेकाले पुराना सामाग्रीहरु पाउन समस्या हुँदा पुनर्निर्माणमा ढिलाइ भएको उनले बताए ।

उनले अवको २ बर्ष भित्र सम्पदा पुनर्निर्माणको सम्पूर्ण कार्य सक्ने लक्ष्य रहेको जानकारी दिए ।

हनुमानढोका दरवार क्षेत्रका नौतले दरवार, गद्धि बैठक देगुतलेजु, तलेजु, आंगर्छे सहित जम्मा ३२ सम्पदामा भूकम्पले क्षति पु¥याएको थियो । जसमध्ये १३ सम्पदाको पुनर्निर्माणको काम सम्पन्न भएको छ । अझै ६ वटा सम्पदाको पुनर्निर्माणको कार्य भइरहेको भएपनि १३ सम्पदाको भने काम नै सुरु भएको छैन ।

त्यसैगरी पाटन दरवार क्षेत्रमा क्षति पुगेका ३० वटा सम्पदामध्ये १४ वटाको पुनर्निर्माण सम्पन्न भएको छ। ६ वटाको काम भइरहेको छ भने १० वटाको काम अझै सुरु हुन सकेको छैन । भक्तपुर दरवार क्षेत्रमा २६ वटा सम्पदामा क्षति पुगेकोमा १५ वटाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । ५ वटा सम्पदा पुनर्निर्माणको काम सञ्चालन भइरहेको छ भने ६ वटाको काम अझै सुरु नभएको विभागले जनाएका छ।

पशुपति र चाँगुनारायण क्षेत्रको अवस्था पनि उस्तै छ । १० वटा क्षति पुगेकोमा ४ वटाको पुनर्निर्माणको कार्य सम्पन्न भएको छ भने ३ वटा निर्माण भइरहेको छ तर अर्को ३ वटामा काम सञ्चालन गर्न बाँकी छ । पशुपति क्षेत्रमा ६१ वटा सम्पदामा क्षति पुगेकामध्ये ३२ वटाको पुनर्निर्माण सकिएको छ । ८ वटा सम्पदाको काम भइरहेको र २१ वटाको हालसम्म कार्य सञ्चालन नगरिएको प्रवक्ता कुँबरले जानकारी दिए ।

स्वयम्भुमा क्षतिग्रस्त १८ सम्पदामध्ये १४ वटाको पुनर्निर्माण सम्पन्न भएपनि ४ वटाको पुनर्निर्माणको काम सुरु नै भएको छैन ।

सम्पदा पुनर्निर्माणमा नेपाल सरकारसँगै चीन, जापान, श्रीलंका,मियामोतो रिलिफ फण्ड (अमेरिकन एम्वेसडर फण्ड), सम्पदा एवं वातावरण संरक्षण फाउण्डेशन नेपाल, काठमाण्डौं महानगरपालिका, भक्तपुर महानगरपालिका, ललितपुर महानगरपालिका, युनेस्को , स्वयम्भु महासमिति, हनुमानढोका विकास समिति, पशुपति क्षेत्र विकास कोष र काठमाडौं उपत्यका संरक्षण कोष संलग्न छन् ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० सुरु हुन केही दिन बाँकी रहदा भूकम्पले क्षतिग्रस्त बनाएका सम्पदा पुनर्निर्माणको काम आधा मात्र सकिएको छ। विशेष त काठमाडौं उपत्यकामा पर्यटकहरुले घुम्ने स्थान यिनै हुन । पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य र निकै प्रचार–प्रसारका साथ भ्रमण वर्ष मनाउन लागेपनि पर्यटकलाई देखाउने सम्पदा निर्माण नसक्दा विश्व बजारमा नकारात्मक सन्देश जान सक्ने भएकाले पुनर्निर्माणलाई तीब्रता दिन पर्यटन व्यवसायीहरुले सुझाव दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x