मोहना–अत्तरिया छ लेन सडकमा सिङ्गल लेनका पुल
कैलाली,२० पुस । कैलालीमा निर्माणाधिन मोहना–अत्तरिया छ लेन सडकमा पर्ने तीनवटा पुल निर्माणको प्रक्रिया अहिलेसम्म सुुरु हुन भएको छैन । सडक निर्माणको काम ६० प्रतिशत भन्दा बढी भइसक्दासम्म पनि पुल निर्माणका लागि टेण्डर समेत आह्वान गरिएको छैन ।
सडकलाई छ लेनमा विस्तार गर्न लागिए पनि उक्त क्षेत्रमा पर्ने पुलहरु भने यथावत छन् । जसले गर्दा दुर्घटनाको जोखिम बढी रहेको छ । निर्माणाधिन १४ किलोमिटर लामो छ लेन सडकमा मोहना देखि–अत्तरीयासम्म ३ वटा पुल रहेका छन् । जुन अहिले पनि जीर्ण अवस्थामा छन् । त्यसैमा पनि सडक छ लेनमा र पुलहरु एक लेनमै सिमित रहेपछि सडकको कुरुपता कायमै छ । यसले दुर्घटनाको जोखिम समेत बढाउने देखिएको छ । सडक निर्माण आगामी जेठ भित्र सम्पन्न गर्न आयोजनाले निर्माण कम्पनिहरुलाई निर्देशन गरेपनि पुल निर्माणको कुनै टुङ्गो लागेको छैन ।
आयोजना प्रमुख होम बहादूर एसीले छिटै पुलको टेण्डर प्रक्रियामा जाने भन्दै पुलको डिजाइन तथा लागत अनुमान भइसकेको जानकारी दिए ।
आयोजनाको सुरुवात गर्दा सडकको मात्रै डिजाईन सर्भे र लागत अनुमान तथा ठेक्का सम्झौता भएपछि पुल निर्माण कार्य ओझेलमा परेको हो । निर्माण अवधी गत जेठमै सकिएपनि सडक कालोपत्रे कार्य जारी छ । चालु आर्थिक बर्षको अन्तिमसम्म काम सक्न निर्माण कम्पनीलाई आयोजना कार्यालयले निर्देशन गरेपनि म्याद थप भएको छैन । सरकारले चालु अवस्थामा रहेका योजनाहरुको अन्तिम समय १ बर्षसम्म म्याद थप्न सकिने भनेपनि सडक बिभागबाट म्याद थप हुन सकेको छैन । म्याद थपका लागि फाइल बिभागमा पुगेको र केही दिनमै मन्त्रालय पठाएर म्याद थप हुने आयोजना प्रमुख एसीको भनाई छ ।
१४ किलोमिटर क्षेत्र सडक ६ लेन र ४ लेनमा राखि निर्माण भइरहेको थियो । केही क्षेत्रमा भएको बिबादका कारण धेरै क्षेत्र ४ लेन बनाउने योजना थियो । तर हाल बजार क्षेत्रमा ६ लेन नै बनाउने र जंगल क्षेत्रमा मात्र ४ लेल राख्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।