बैंकिङ क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको भन्दै ब्रोकर लाईसेन्स दिन माग
काठमाडौं, २७ पुस । बैंकिङ क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको भन्दै बैकलाई ब्रोकर लाइसेन्स दिन नेपाल बैकर एसोसिएसनले माग गरेको छ । एसोसिएनसले पूँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उपसमितिलाई पत्र पठाउँदै बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सात कारण पेश गरेको छ ।
एसोसिएसनले नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय रुपमा गरिने क्यामेल रेटिङमा समेत दक्षिण एशियामा अग्र स्थानामा रहेको जनाएको छ। हाल वित्तीय पहुँच २९५ वटा स्थानीय निकायमा पुगेको तथा बैंकका शाखा कार्यालयहरु ४ हजार भन्दा धेरै भएकाले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा उपयुक्त हुने एशोसिएसनले जनाएको छ। एसोसिएनका अनुसार आस्वा सुविधा कार्यान्वयन गर्नु अगाडि पनि यस्तै विरोध भएको तर अहिले प्राथमिक बजारमा धेरै राम्रो भएको छ।
त्यस्तै, हाल बैंकिङ क्षेत्र पारदर्शी र नीति नियमको पालना गर्ने सन्दर्भमा अग्रणी रहेको जनाउँदै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ नहुने जिकिर गरेको छ। एशोसिएसनले यसका लागि आवश्यक सुशासन सम्बन्धी निर्देशिका बनाएर नियमन गर्न सकिने जनाएको छ। बैंकलाई लाइसेन्स दिँदा सही सूचना तथा मार्गदर्शन प्रदान हुने एशोसिएसनले दाबी गरेको छ। बैंकमा रहेका दक्ष कर्मचारीहरुले कुनै पनि ग्राहकरुलाई आवश्यक सूचना तथा जोखिमका बारे जानकारी दिन सक्नेछ । बैंकका कर्मचारीहरुलाई आफ्नो आचरण सम्बन्धी पालना गर्नु पर्ने निर्देशन समेत लागु गरिएको अवस्थामा कर्मचारी तहबाट निष्पक्ष रुपमा काम हुने एशोसिएसनले दाबी गरेको छ।
विदेशका अन्य देशहरुमा पनि बैंकलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको बताउँदै एशोसिएसनले ब्रोकरको काम अहिले भैरहेको बैंकिङ प्रणालीबाटै हुने जनाएको छ। हाल भैरहेको जनशक्ती र व्यवस्थापनबाट नै तत्काल यो सुविधा प्रत्येक स्थानीय तहमा प्रदान गर्न सकिने र कतिपय बैंकले ब्रोकरको काम गर्न सहायक कम्पनी समेत खोलिसकेको एशोसिएसनले जनाएको छ।