वाणिज्य बैंकले प्रयोगमा ल्याए ‘गो–एएमएल’ ग्राहकको निगरानीसँगै शंकास्पद कारोबारबारे जानकारी लिन सहज
काठमाडौं, ३ माघ । वाणिज्य बैंकहरुल आफ्ना ग्राहकको विवरण सिधै निगरानीमा राख्न सक्ने र शंकास्पद कारोबारसमेत थाहा पाउन सहज हुने ‘गो–एएमएल’ सफ्टवेयर प्रयोगमा ल्याएका छन् । नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि उक्त सफ्टवेयर प्रयोग गर्न निर्देशन दिएसँगै बैंकहरूले यसलाई कार्यान्वयनमा ल्याएका हुन् ।
हाल मुलुकमा २७ वटा वाणिज्य बैंक संचालमा छन् ।
गो–एएमएल यूएनओडीसीले विकास गरेको अन्तराष्ट्रियस्तरको एकीकृत सूचना सञ्जालसहितको एक प्रकारको प्रणाली हो । हाल यो प्रणाली संसारका ५० मुलुकले प्रयोगमा ल्याइसकेका छन् । यो कार्यान्वयनमा आएसँगै बैंकले केन्द्रीय बैंकलाई अनिवार्य रूपमा विद्युतीय माध्यमबाट मात्र नियमित प्रतिवेदन पेश गर्नुपर्नेछ ।
यो प्रविधिमार्फत बैंकले गरेको कारोबारको सिमा र शंकास्पद विवरणहरू राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइमा पुग्नेछ । यसको कार्यान्वयनले नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा प्रभावकारिता आउने र यसै वर्ष हुने पारस्परिक मूल्याङ्कनमा समेत राम्रो नतिजा आउने राष्ट्र बैंकको विश्वास छ ।