६ महिनामा सुदूरपश्चिम प्रदेशको राजस्व संकलन ४९ प्रतिशत, बजेट खर्च भने १०.८ प्रतिशत मात्र
बिवेक नगरी
धनगढी, ४ माघ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको २८ अर्व १६ करोड २० लाख ३५ हजार रुपैयाँ बजेट मध्य पुस मसान्तसम्ममा २ अर्व ८६ करोड, ८२ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरि चालु आर्थिक वर्षको ६ महिनाको प्रगति समीक्षा सार्वजनिक गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराका अनुसार यो कुल बजेटको १०.८ प्रतिशत हो । गत आर्थिक वर्षको यसै अवधिमा ४.९५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो ।
मन्त्री वोहराले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजेट खर्च २ सय ३९ प्रतिशतले वृद्धि भएको बताए ।
बजेट खर्च गत वर्षको भन्दा सुधार भएको भन्दै उनले शत प्रतिशत बजेट कार्यान्वयन गर्न तर्फ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयसँग आवश्यक समन्वय अघि बढाएको र सरकार अत्यन्त सजग भएर बजेट खर्च र विकास निर्माणका काममा लागिपरेको जानकारी दिए ।
राजस्व सङ्कलनमा समेत सुधार भएको उनले बताए । चालु वर्षका लागि तोकिएको ८८ करोड ६४ लाख मध्ये हालसम्ममा ४९ प्रतिशत अर्थात् झन्डै ४० करोड ७ लाख राजस्व सङ्कलन भइसकेको उनले जानकारी दिए ।