चालु आवको ६ महिनामा श्रम मन्त्रालयको ४ प्रतिशतमात्र खर्च
काठमाडौं, १ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा ४.१ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले चालु आवमा मन्त्रालयगत विनियोजन गरेको बजेटमध्ये यो मन्त्रालयको न्यून खर्च भएको देखिएको हो । श्रम मन्त्रालयलाई विनियोजन गरिएको ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँमध्ये बजेटको अर्थवार्षिक समीक्षा अवधिसम्ममा २६ करोड २३ लाख रुपैयाँमात्र खर्च भएको छ । गत वर्षपनि यो मन्त्रालयले न्युन खर्च गरेको थियो । गत वर्षको बजेट अर्धवार्षिक समीक्षा अवधिमा श्रम मन्त्रालयले ३.३ प्रतिशतमात्र खर्च भएको थियो ।
चालु आवमा श्रम मन्त्रालयको कम खर्च हुनुमा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि संशोधनमा भएको ढिलाइलाई देखाईएको छ । गत वर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्पूर्र्ण बजेट चालुतर्फ विनियोजन भएको भन्दै खर्च नभएको कारण देखाईएको थियो ।
त्यस्तै चालु आवमा सबैभन्दा बढी ८०.२ प्रतिशत खर्च युवा तथा खेलकुद मन्त्रालयले गरेको छ । यो मन्त्रालयलाई विनियोजन गरिएको कुल बजेट ३ अर्ब ४७ करोड ५१ लाखमध्ये २ अर्ब ७८ करोड ८० लाख रुपैयाँ खर्च भएको हो । यो मन्त्रालयले बढी खर्च गर्नुमा १३औं सार्क एशियाली खेलकुद(साग)लाई मुख्य कारणको रुपमा लिएको छ । यो खेलका लागि मन्त्रालयले २ अर्ब ५० करोड ६६ लाख रुपैयाँ निकासा गरेको थियो ।