नेपाललाई कोरोनामुक्त क्षेत्रका रुपमा प्रचार गरिने
काठमाडौं, ७ फागुन । पर्यटन प्रवद्र्धनका लागि नेपालले कोरोनामुक्त क्षेत्रका रुपमा प्रमुख पर्यटकीय स्रोत मुलुकहरुमा प्रचार गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै पर्यटकहरु नेपाल आउन डराइरहेको अवस्थामा यस्तो प्रचारले नेपालको पर्यटन प्रवद्र्धन हुने बताए ।
चीनको वुहानमा गत महिनादेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण चीनको छिमेकी मुलुक भएकाले पर्यटक नेपाल आउन समेत उत्साहीत छैनन् । भएका बुकिङहरु समेत रद्द भैरहेको पर्यटन व्यवसायीहरु बताउँछन् । गत वर्षको यही अवधिभन्दा २२ देखि २५ प्रतिशतसम्म होटलहरुको अकुपेन्सी कम रहेको छ । यो सिजनमा बिबाहका लागि भारत लगायतका मुलुकबाट नेपालका होटलहरु बुकिङ हुने गरेकोमा कोरोना भाइरसको डरले अन्तिम समयमा रद्द भइरहेको होटल व्यवसायीहरु बताउँछन् । भारतमा वस्तु तथा सेवा कर लागेसँगै तारे होटलको सेवा महँगो भएपछि भारतीयहरु बिहाबारीका लागि सहज र नजिकको गन्तव्यका रुपमा नेपाल आउने गरेका छन् ।
पर्यटनमन्त्री भट्टराईले नेपालमा कोरोना भाइरस नरहेकाले यो प्रचार जरुरी भएको बताएका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइरहेको छ । तर प्रमुख पर्यटकको स्रोत मुलुक चीनको वुहानमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि यसले पर्यटनमा प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरसका कारण नेपालमा चीनबाट हुने आयात समेत ठप्प भई खुद्रा व्यापार, तयारी पोशाक, नवप्रवर्तन र प्रविधिमा आधारित उद्योगहरुमा यसको असर देखापर्न थालेको छ ।
कोरोना भाइरसको महामारी लामो समयसम्म लम्बिए यसले विश्व अर्थतन्त्रमा नै मन्दी सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।