नेपाल ट्रष्टको जग्गाभाडा पूर्व सरकारहरुबाटः रक्षामन्त्रीको श्वेतपत्र
काठमाडौं, १४ फागुन । गृहमन्त्री अध्यक्ष रहने प्रावधान ऐन संशोधनमार्फत् परिवर्तन भएर नेपाल ट्रष्टको अध्यक्ष बनेका रक्षामन्त्री ईश्वर पोखरेलले ट्रष्टको नाममा जग्गा भाडा सम्बन्धि विवादमा श्वेतपत्र जारी गरेका छन् ।
श्वेतपत्र अनुसार, ठूला निर्णय पूर्ववर्ती सरकारहरूबाटै भइसकेको पाइएको छ । सरकारले नेपाल ट्रस्टका नाममा रहेका चल–अचल सम्पत्तिबारे श्वेतपत्रमार्फत मंगलबार विवरण सार्वजनिक गरेको हो । श्वेतपत्रअनुसार २०७४ वैशाख ५ गते यती होल्डिङअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई दरबारमार्गको जग्गा लिजमा दिने निर्णय हुँदा ट्रस्टको संरक्षकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र अध्यक्षमा गृहमन्त्री विमलेन्द्र निधि थिए। चारमध्ये सबैभन्दा धेरै थामसेर्कुको १ अर्ब ४० करोड १० लाख ८६ हजारको प्रस्ताव स्वीकृत भएको थियो।
२०७४ कात्तिक १३ गते सोल्टी आउटर कम्प्लेक्स थामसेर्कु ट्रेकिङलाई २७ करोड ७४ लाख ७५ हजारमा दिने निर्णय गर्दा ट्रस्टको संरक्षकमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र ट्रस्ट अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा थिए। ऐन संशोधन हुनुअगावै दरबारमार्ग र ताहाचलका लिज सम्झौता भएका थिए। २०७१ साउन २८ मा ट्रस्टका संरक्षक तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा अध्यक्षमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम रहेको ट्रस्ट सञ्चालक समितिले कमलादी, हेटौंडा, ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्ग लिजमा लगाउने निर्णय गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको श्वेतपत्रमा उल्लेख छ ।
ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने निर्णयमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री गच्छदार संलग्न देखिएका छन्। ट्रस्टले जारी गरेको श्वेतपत्रमा थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको १७३ रोपनी मोहीका नाममा नामसारी गर्ने कार्यमा भट्टराई र गच्छदारको संलग्नता रहेको उल्लेख छ। श्वेतपत्रमा ट्रस्टका तत्कालीन संरक्षक प्रधानमन्त्री भट्टराई तथा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष गच्छदार रहेका बेला २०६९ कात्तिक २ मा बसेको मन्त्रिपरिषद् विधेयक समितिको निर्णयानुसार ट्रस्टको स्वामित्वको पूरै १७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाका नाममा नामसारी भएको उल्लेख छ।
मातातीर्थको ५९ रोपनी १ आना ३ पैसा, थानकोट महादेवस्थानको १०२ रोपनी ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा र बालाजु इचंगुको १० रोपनी ६ आना १ दाम ट्रस्टको जग्गा भूमि ऐन २०२१ विपरीत व्यक्तिको नाममा नामसारी भएको श्वेतपत्रमा छ। त्यो जग्गा ११ जनाका नाममा नामसारी गरिसकिएको छ।