भारतबाट ५ अर्बभन्दा बढीको कस्मेटिक्स सामाग्री आयात, दोस्रोमा चीन
झरना कँडेल
काठमाडौं, १८ फागुन । चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो ७ महिनामा कस्मेटिक्स सामाग्रीहरुको आयात बढेको छ । गत आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा ४ करोड ५० लाख रुपैयाँभन्दा बढीको कस्मेटिक्स सामाग्रीको आयात भएको हो ।
भन्सार विभागका अनुसार चालु आवको पहिलो ७ महिनामा करिव ६ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ बराबरको कस्मेटिक्स सामाग्रीको आयात भएको छ । तर, गत आवको ७ महिनामा ६ अर्व ८८ करोड २१ लाख २७ हजार रुपैयाँको कस्मेटिक्स सामाग्रीको आयात भएको थियो ।
सबैभन्दा बढी कस्मेटिक्स सामाग्री भारत र चीनबाट आयात भएको विभागको तथ्याङ्ककमा उल्लेख छ । चालु आवको माघ महिनासम्ममा भारतबाट ५ अर्ब १ करोड ८५ लाख रुपैयाँ बराबरको र चीनबाट ५६ करोड ३४ लाख रुपैयाँ बराबरको कस्मेटिक्स सामाग्रीहरुको आयात भएको विभागका तथ्याङ्क अधिकृत मोहन कुमार पुडासैनीले बताए । अन्य देशहरुबाट भने न्यून आयात हुने गरेको उनले जानकारी दिए ।
त्यस्तै दक्षीण कोरिया, मलेसिया, थाइल्याण्ड, इटली, ताइवान, भुटान, स्पेनबाट हाल करिव ४ सय २० भन्दा बढी कस्मेटिक्स सामाग्रीहरु आयात भैरहेको विभागले जनाएको छ ।
त्यसैगरी नेपालबाट कस्मेटिक सामाग्रीहरु निर्यात पनि हुने गरेको विभागले जनाएको छ । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनाको अवधिसम्ममा करिव १ करोड ११ लाख ८१ हजार रुपैयाँ बराबरको कस्मेटिक्स सामाग्रीहरु निर्यात भएको पुडासैनीले बताए । नेपालबाट जापान, क्यानडा, बेल्जियम र जर्मनी लगायत अन्य देशहरुमा करिव ८८ प्रकारका कस्मेटिक्स सामाग्रीहरु निर्यात हुदैँ आएका छन् ।
मुलुकभित्र ब्युटीपार्लरको संङ्ख्या बढ्नु तथा मानिसमा आफ्नो सुन्दरताप्रति चासो बढ्दै गएकाले पनि कस्मेटिक्स सामाग्रीहरुको बढी खपत हुन थालेको सौन्दर्यकला व्यावसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठले बताइन् ।