पेट्रोल, डिजेल आजबाट प्रतिलिटर २ रुपैयाँ सस्तो
काठमाडौं, ४ चैत । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य सामान्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य गिरावट आएपनि निगमले उपभोक्ता मूल्य भने सामान्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् १९९१ को खाडी युद्ध यताकै सस्तो हुँदा पनि निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २–२ रुपैयाँमात्र उपभोक्ता मूल्य घटाएको छ । पेट्रोलको भाउ काठमाडौंमा १०६ रुपैयाँ र भारतसँग सीमावर्ती बजारहरुमा १०४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै डिजेलको भाउ काठमाडौंमा ९५ रुपैयाँ र भारतसँगका सीमावर्ती डिपोहरुबाट बिक्री हुनेमा ९३ रुपैयाँ ५० पैसा कायम गरेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोयलले बताए । डिजेल र मटितेलको मूल्य भने समान हुन्छ ।
त्यस्तै, कोरोनाको असरले हवाई यात्रु घटिरहेको पक्षलाई दृष्टिगत गर्दै वायु सेवा सञ्चालकहरुले हवाई इन्धनको मूल्य कायम गर्दा कम मार्जिन राख्न आग्रह गर्दै आएका थिए । निगमले आन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाएर ९० रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।
बाह्य हवाई उड्ययनमा हवाई इन्धनको मूल्य भने यथावत् छ । निगमले खाना पकाउने ग्यासको मूल्य पनि यथावत् राखेको छ ।