अब सी–आश्बा पनि अनिवार्य, सीआरएन नम्बर लिएर घरबाटै शेयर भर्न सकिने
काठमाडौं, ९ माघ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आज एक सूचना प्रकाशित गरी सी–आश्बा प्रणाली अनिवार्य गरेको छ । गत वर्षको माघबाट आश्बा प्रणाली अनिवार्य गरेको धितोपत्र बोर्डले सीडीएसले तयार पारेको अनलाइनमा आधारित सी–आश्बा प्रणालीसम्बन्धी निर्देशिका स्वीकृत गरेसँगै आजकै मितिबाटै अनिवार्य गरिएको सूचनामा उल्लेख छ ।
आश्बा प्रणालीमा आफ्नो खाता रहेको बैंकको कुनै पनि शाखामा गएर बैंकले तोकेको ढाँचामा डिजाइन गरेको फर्म भरेर आइपीओ÷एफपीओ भर्नुपर्ने व्यवस्था थियो । सी–आश्बा प्रणालीमा सर्वप्रथम सम्बन्धित बैंकमा गएर सीआएन नम्बर लिनुपर्दछ र अनलाइनमार्फत सीडीएसले उपलब्ध गराएको मेरो शेयर अनलाइनमार्फत केही मिनेटमै शेयर भर्न सकिने सुविधा उपलब्ध छ । सीडीएसका अनुसार हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्था मात्रै सी–आश्बामा सुचीकृत रहेकोमा सीडीएसले अनिवार्य गरेपछि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै बैंक तथा वित्तिय संस्था सी–आश्बामा सुचीकृत हुन बाध्य भएको छ । यसबाट छोटो समयमा आइपीओ एफपीओको बाँडफाँड हुनुका साथै लगानीकर्ताले पनि सोही प्रकृतिको फर्म हरेक पटकको आइपीओ÷एफपीओमा भर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
सीआश्बामार्फत लगानीकर्ताले शेयर भर्दा आफ्नो बैंक खाता र डिम्याट खातालाई सम्बन्धीत बैंक मार्फत मिलान गराउनुपर्नेछ । त्यसपछि बैंकले लगानीकर्तालाई सि आश्वा रजिष्ट्रेशन नम्बर(सिआरएन) उपलब्ध गराउनेछ । सोही नम्बरका आधारमा लगानीकर्ताले आइपीओ, हकप्रद र एफपीओमा घरबाटै आवेदन दिन सक्नेछन् ।