कोरोना भाइसरको त्रासले दाङका १३ सय होटल बन्द
 
			दाङ, ५ चैत । कोरोना भाइरसको प्रभावले दाङका १३ सय होटल बन्द भएका छन् । होटलहरु  बन्द हुँदा  दैनिक १ करोड ३५ लाख रुपैयाँ घाँटा बेहोर्नु परेको व्यवसायीले बताएका छन् । जिल्लाका घोराही, तुलसीपुर र लमहीमा रहेका सम्पूर्ण  होटल बन्द भएको होटल व्यवसायी संघ दाङले बताएको छ ।  कोरोनाका त्रासले  आन्तरिक तथा बाह्य पर्यटक आगमन घटेपछि होटलहरु बन्द भएको  होटल  व्यवसायी संघ, दाङका अध्यक्ष रुद«बहादुर डाँगीले बताए । पहिले भारत तथा अन्य मुलकबाट दैनिक एक सय पर्यटक जिल्ला भित्रिने गरे पनि पछिल्लो समय कोरोनाको त्रासले  आउन  छोडेको उनको भनाइ छ ।
  यस्तै  सरकारले  सरकारी तथा गैरसरकारी संघ संस्थालाई ठूलो कार्यक्रम नगर्न  अनुरोध गरेपछि यसको असर  होटल व्यवसायमा देखिएको व्यवसायीले बताएका छन् । अहिले जिल्लाभर  झण्डै ५ हजार कामदार कार्यरत छन् । तर व्यवसाय खस्किएपछि उनीहरुलाई  तलब खुवाउनै मुश्किल भएको व्यवसायीको  गुनासो छ । होटलहरु  बन्द हुँदा  किसानले उत्पादन गरेका  तरकारी लगायत उपभोग्य वस्तुको विक्री समेत हुन सकेको छैन ।




 
                         
                        