Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

भारत र चीनका नाका एक साता बन्द गरिने

भारत र चीनका नाका एक साता बन्द गरिने

काठमाडौं, १० चैत । सरकारले भारत र चीनसँगका सीमा नाका एक साताका लागि बन्द गर्ने भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै देशतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सरकारले चैतको १० देखि १६ सम्म मालवहाक सवारीलाई बाहेक दुवै देशका सीमा बन्द गर्ने, कोरोना उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त कोरोनासँग जुझ्न ५० करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र त्यसमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक योगदान गर्ने निर्णय भएको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बताए ।

प्रधानमन्त्रीको चैत ७ को सम्बोधनमा अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ सम्म अन्तर्राष्ट्रिय विमानसेवाका लागि बन्द गर्ने निर्णय भैसकेको हो । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले नाका र विमानस्थल बन्द गरेको हो । अत्यावश्यक सेवा बाहेक अरु सबै सेवा चैत २१ सम्मका लागि बन्द भैसकेका छन् ।
मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवाको सूची पनि परिमार्जन गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । सरकारले अत्यावश्यक अवस्थामा बाहेक हिंडडुल नगर्न, सतर्क रहन र आतंकित नहुन आह्वान गरेको छ । सरकारले बजार अनुगमन र आपूर्ति व्यवस्था सहज बनाउन तिनै तहलाई बजार अनुगमनको जिम्मेवारी दिएको छ ।
त्यसैगरी १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
सरकारले आवश्यकता अनुसार थप निर्णय गर्दै जाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x