सरकार तथा केन्द्रीय बैंकको कदम सकारात्मक : नेपाल उद्योग परिसंघ

काठमाडौं, १७ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारको पछिल्लो कदमको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । अत्यावश्यक बाहेक अन्य क्षेत्र बन्द रहेको तथा विश्वको अर्थन्त्रको प्रभाव नेपालमा समेत पर्ने सम्भावना बढिरहेको अवस्थामा अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम सकारात्मक भएको परिसंघले बताएको छ ।
मौद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाइराख्न सहयोग पुग्ने महसूस गरिएको परिसंघद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ । ‘विभिन्न समयमा परिसंघले उठाउँदै आएका विभिन्न विषयलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले निश्चितरुपम निजी क्षेत्रको मनोवललाई जोगाई राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ ।’
यस्तै नेपाल सरकारले आइतवार वित्तीय क्षेत्रका लागि गरेको निर्णयलाई परिसंघले महत्वपूर्ण ठहर गरेको छ । नेपालको अर्थ व्यवस्थालाई जोगाई राख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा हुनु प्रशंसनीय भएको परिसंघको भनाइ छ ।
‘सरकारले गरिव परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो सरकारले लिएको अत्यन्त सकारात्मक कदम हो । हाललाई अल्पकालीन राहतको व्यवस्था गरि मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने परिसंघले विश्वास लिएको छ ।’
हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सबैको भएको भन्दै परिसंघले यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन सरकार लगायत सबै सरोकारवालासँग अनुरोध गरेको छ ।