कर्णालीका १० वटै जिल्लामा आइलोसेलन बेड तयार

वीरेन्द्रनगर, १७ चैत । कर्णाली प्रदेशका १० वटै जिल्लामा आइलोसेलन बेड तयार गरिएको छ । सबै जिल्लामा गरेर तीनसय ३९ वटा आइसोलेसन बेड तयार गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले बताएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सबैभन्दा बढी एकसय २०, प्रदेश अस्पताल सुर्खेतमा ८५, मुगुमा सात, डोल्पामा आठ, हुम्लामा १०, जाजरकोटमा ६, रुकुमपश्चिममा दश, सल्यानमा २२, कालिकोटमा १४, दैलेखमा ५७ बेडको आइसोलेसन बेड तयार पारिएको छ । यसैगरी १७ बेडको आईसीयू र सात बेडको भेन्टिलेटर पनि तयार पारिएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।
प्रदेश सरकार र स्थानीय सरकार मिलेर प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन पूर्वतयारीलाई तीव्र पारेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा २ हजार पाँच सय २८ बेडको क्वारेन्टाइन निर्माण गरिसकिएको छ । विभिन्न स्थानीय तहले दुइ हजार २८ क्षमताको क्वारेन्टाइन बनाएका छन् भने प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा चार सय र दैलेख जिल्लामा एकसय क्षमताको क्वारेन्टाइन तयार गरेको छ ।
हाल भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । विभिन्न कामले विदेशमा रहेका कर्णालीका आठ हजार ६ सय ५० जना हालै मात्रै स्वदेश फर्किएका छन् । स्थानीय तहहरुले यसको तथ्यांक संकलन गरिरहेका छन् ।