कोरोना रोकथामका लागि सातै प्रदेशको कोषमा नेपाल बैंकको ५-५ लाख सहयोग

काठमाडौं, १९ चैत । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल बैंक लिमिटेडले सातै प्रदेशका कोषमा रू. ५-५ लाख सहयोग गर्ने भएको छ । कोभिड–१९ ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको सन्दर्भमा सरकारलाई साथ दिनुपर्ने भन्दै बैंकले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५÷५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रकम आर्थिक सहयोग प्रदान गरेका थियो । योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कुल १ करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।