देशभर कोभिड–१९ को आधा लाख नमूना परीक्षण
काठमाडौं, १३ वैशाख । सरकारले हालसम्म कुल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण संख्या ९ हजार ६६६ रहेको छ भने र्यापिड डायग्नोस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कुल ४ हजार १६० परीक्षण गरिएको छ । प्रदेश नं २ मा ५ हजार ४४, बागमती प्रदेशमा ७ हजार ४६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा चार हजार ८७१, प्रदेश नं ५ मा २ हजार ९५०, कर्णाली प्रदेशमा ४ हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।
हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कुल ८७ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले बताएका छन् ।
हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २५ हजार ९०६ जनाले मूल्याङ्कन फाराम भरेकामा तीन जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कूल रेड जोनमा भने २९० जना रहेका छन् । शुक्रबार साँझ झापाको दमकका एक ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको थियो । गत चैत ४ गते दुबईबाट नेपाल आएका ती पुरुषको छोरासहितको परीक्षण गर्दा ६५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।