लकडाउनमा पनि गति लिँदै मेलम्ची खानेपानी आयोजना
काठमाडौं, १४ वैशाख । लकडाउनको पहिलो साता केही सुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माणले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा लकडाउनको पहिलो साता कतिपय मजदूर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन सकेको थिएन । अहिले मजदूर आउन थालेर निर्माण सामग्रीका लागि पनि सहज भएपछि निर्माणले गति लिएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताएका छन् ।सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेपछि कामको वातावरण बनेको हो । अहिले निर्माण स्थलमा झण्डै २०० कामदार कार्यरत रहेको आयोजनाले बताएको छ ।
‘गत सातादेखि नै नियमित रुपमा काम भइरहेको छ,’ श्रेष्ठले भने । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको दुई साता पहिलेको बैठकले आयोजनामा सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएकाले काम अघि बढिरहेको आयोजनाले बताएको छ । आयोजनाले यहाँको निर्माणलाई प्रशोधन केन्द्र, हेडबक्स र सुरुङमार्ग गरी तीन भागमा विभाजन गरेको छ । जसमध्ये सुन्दरीजलमा दुवै प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेर परीक्षण भइरहेको छ ।
अहिले सुरुङ भित्र पनि निर्माणका धेरै काम सकिएकाले अन्तिम काम (फिनिसिङ) भइरहेको छ । हेडबक्समा आवश्यक काम भइरहेको र सुन्दरीजलको प्रशोधन केन्द्रसम्म ल्याइने पाइप निर्माणको काम अघि बढेको छ । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माणको काम भइरहेको आयोजनाले जानकारी दिएको छ । ‘लकडाउन’ पहिले केही चिनियाँ घर फर्किए पनि अधिकांश चिनियाँ निर्माणस्थलमै कार्यरत छन् । अहिले चिनियाँ दक्ष कामदार झण्डै ४० देखि ५० जनासम्म निर्माणस्थलमा रहेको बताइएको छ ।