अन्तर्राष्ट्रिय उडान इजाजतका लागि सरकारले गर्यो प्रस्ताव आह्वान
काठमाडौं, १८ वैशाख । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको राससमा उल्लेख छ ।
आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीनओटा वायुयानबाट सेवा सञ्चालनका लागि देहायबमोजिमको कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्तापूँजीसम्बन्धी विवरण पेश गर्नुपर्नेछ ।
प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न, रू. एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रू. ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रू. ५० करोड चुक्तापूँजी हुनुपर्ने बताइएको छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लिखित चुक्तापूँजीमा रू. १० करोड थप गर्नुपर्नेछ ।
अन्तर्राष्ट्रिय उडान सञ्चालनयोग्य आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव माग गरिएको सो मन्त्रालयका सह–सचिव सुरेश आचार्यको भनाइ छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको र अहिले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनको अवस्थामा थुप्रै अन्तर्राष्ट्रिय उडान (कार्गो, चार्टर्ड र सेडुअल) गर्नुपर्ने भएकाले प्रस्ताव आह्वान गरिएको बताइएको छ ।
अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् ।