लकडाउन खुकुलो पार्न प्रधानमन्त्री अनिच्छुक
काठमाडौं, २४ वैशाख । चैत ११ देखि शुरु भएको लकडाउन ४५ दिन पुगिसक्दा पनि सरकारले यसको ‘एक्जिट प्लान’ ल्याउन सकेको छैन । बरु प्रधानमन्त्री ओली संक्रमण बढीरहेकाले लकडाउन खुला गर्न नहुने पक्षमा छन् । लकडाउनका कारण सम्पूर्ण उद्यम व्यवसाय बन्द छन् । मानिसहरुले रोजगारी गुमाउने जोखिम बढ्दै गएको छ भने दैनिक ज्याला मजदूरी गर्नेहरु चरम संकटमा परेका छन् । यस्तो अवस्थामा सरकारले सुरक्षित उपाय अपनाएर ग्रीन जोनमा आर्थिक गतिविधि गर्न लकडाउन खुकुलो पार्दै लैजानुपर्ने उपप्रधानमन्त्री नेतृत्वको कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटि (सीसीएमसी)ले प्रधानमन्त्री समक्ष पेश गरेको थियो ।
जोखिममा रहेका क्षेत्रलाई बन्द गरेर अन्यत्र क्रमशः खुलाउँदै जानुपर्ने रायमा प्रधानमन्त्री ओली असहमत छन् ।
भारतमा संक्रमण बढीरहेको र नेपालमा पनि सीमा नाकामा बढ्दो संक्रमणका कारण अझै केही समय लम्ब्याउने प्रधानमन्त्रीको तयारी रहेको उनी निकट स्रोत बताउँछन् ।
यद्यमी सीसीएमसीले चीन र भारतसँगका नाका मानिसहरुको आवतजावतलाई अझै केही समय बन्द गर्ने, अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, आर्थिक गतिविधि गर्दा पनि धेरै भीडभाड हुने क्षेत्र खुला नगर्ने, पार्टी प्यालेस, सिनेमा हल, स्वीमिङ पुल, विद्यालय र कलेजहरु बन्द नै राख्ने सिफारिश गरेको छ ।
लामो समयदेखि लकडाउन भएपनि संक्रमितको सम्पर्कमा आएकाहरुलाई पहिल्याएर व्यापक परिक्षण गरी जोखिममा रहेकालाई आइसोलेसनमा राख्नुपर्ने जस्ता विकल्पमा सरकारले काम गर्न नसकेको भन्दै आलोचना समेत भइरहेको छ । सरकारले लकडाउनलाई मात्र प्रभावकारी विकल्प मान्दा अर्थतन्त्रमा क्षति गहिरिदैं गएको उनीहरुले बताएका छन् । अहिलेसम्म सरकारले आरडीटी विधिबाट ५० हजार र पीसीआरबाट १४ हजार परिक्षण भएको छ । औसत दैनिक परिक्षण ३२५ हाराहारीमा छ । जुन अत्यन्त न्यून हो । कोरोना भाइरस विरुद्ध प्रभावकारी काम गरेको दक्षिण कोरिया सरकारले दैनिक औसत १० लाख परिक्षणहरु गरेको थियो । कोरोना भाइरसविरुद्ध न्यूजील्याण्डले शून्य संक्रमण वृद्धिको सफलता पाएको छ भने जर्मनीले यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकेको छ ।
नेपालको भन्दा झण्डै दोब्बर ५ करोड ५० लाख जनसंख्या भएको भाइरसको उद्गम बिन्दू भनेर चिनिने चीनको वुहान सहरले यसलाई सम्पूर्ण नियन्त्रण गरी आर्थिक गतिविधिहरु समेत सञ्चालन गर्न सुरु गरीसकेको छ । अतिप्रभावित इटली, फ्रान्स, स्पेन लगायतले पनि लकडाउन क्रमशः खुकुलो बनाउँदै लगेको छ ।