कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई उद्यमशीलतामा जोड्दै तानसेन नगरपालिका
तानसेन, २५ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण रोजगारी गुमाएर फर्किन सक्नेहरूलाई उद्यम र रोजगारीसँग जोड्न पाल्पाको तानसेन नगरपालिकाले तयारी सुरु गरेको छ । नगरपालिकाले यसका लागि युवा लक्षित कार्यक्रम निर्माण गर्दै विदेशबाट सम्भावित रुपमा फर्किने आफ्नो क्षेत्रका युवालाई आर्थिक क्रियाकलापमा जोड्ने तयारी गरेको हो ।
तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किन सक्ने आफ्नो क्षेत्रका युवाहरुलाई लक्षित गर्दै तयारी तीव्र बनाइएको बताए । ‘फर्किनेहरुलाई के–के कुरामा हामी सहयोग गर्न सक्छौं भनेर तयारी गर्दैछौं,’ नगरप्रमुख शाहीले भने, ‘यसका लागि कृषि, पर्यटन लगायतका क्षेत्रको पहिचान गरिएको छ ।’
नगरप्रमुख शाहीले कृषि क्षेत्रलाई आफ्नो नगरपालिकामा सवैभन्दा सम्भावना भएको क्षेत्रका रुपमा हेरिएको भन्दै निर्वाहमुखि कृषिलाई पहिलो चरणमा आत्मनिर्भर बनाउने र त्यसपछि निर्यातमुखि बनाउन सकिने धारणा राखे । उनले तानसेन नगरपालिका क्षेत्रमा पुष्प व्यवसायको सम्भावना धेरै रहेको भन्दै चिसोमा हुने माछा तथा बाख्रापालन, अमिलो जातका फलफूल खेतीको सम्भावना पनि उत्तिकै रहेको बताए । उनले नगरपालिकाले गतबर्ष सुरु गरेको ओखर खेती सफल हुने देखिएको भन्दै वैदेशिक रोजगारबाट फर्किने जनशक्तिको परिचालन तथा सदुपयोगको नीति नगरपालिकाको रहेको बताए ।
पर्यटनलाई नगरपालिकाले अर्को सम्भावना भएको क्षेत्रका रुपमा लिएको भन्दै तानसेनको वस्तुस्थीतिले ठूला उद्योग, कलकारखाना खोल्न नसकिने भएका कारण युवालाई पर्यटन क्षेत्रमा संलग्न गराउने तयारी रहेको उनले जानकारी दिए । ‘हामीले लगानीका लागि कोष बनाएका छौं,’ नगरप्रमुख शाहीले भने, ‘धितो नहुनेलाई नगरपालिका जमानी बसेर समेत ऋण उपलव्ध गराइदिने गरेको छ ।’ उनले नगरक्षेत्रमा विदेशबाट फर्केका चारजनाले गरेको गाईपालन, बंगुरपालन लगायतमा राम्रो उपलव्धी देखिएको भन्दै विदेशबाट फर्केकाहरुको कामप्रतिको लगावप्रति विश्वस्त रहेको बताए ।
उद्यमशीलताको लागि हालसम्म नगरपालिकाले ३० वटा समूहमा तालिम सञ्चालन गरिसकेको भन्दै नगरप्रमुख शाहीले उत्पादनलाई बजारसँग जोड्ने काममा नगरपालिकाले सहयोग गर्ने बताए । कुनै किसानले अन्नबाली विक्रि गर्न नसकेमा नगरपालिकाले खरिद गर्ने निर्णय यसअगाडी नै गरिसकेको उनले जानकारी दिए । सीप र जाँगर भएका व्यक्तिलाई नगरपालिकाले आन्तरिक रोजगारीसँग जोड्न खोजेको उनको भनाई थियो ।
वैदेशिक रोजगारबाट फर्किनेहरुको सीपको पहिचान हुनुपर्ने भन्दै नेपालले उनीहरुको सीप अनुसारको काममा परिचालन गर्नु आवश्यक रहेको बताए । यसैगरी उद्यमशीलताको विकास गर्नु आवश्यक रहेको र बजारको अध्ययन तथा माग अनुरुपको बस्तु उत्पादनमा जनशक्ति परिचालनकोे खाँचो उनले औंल्याए । कृषिमा व्यवसायीकरणको खाँचो रहेको भन्दै नेपालले स्वदेश तथा विदेशको बजारमा समेत कृषि उपज विक्रि गर्न सकिने भएकाले नगरपालिकाले पनि त्यसको खोजि गर्नुपर्ने धारणा राखे ।
पाल्पामा पर्यटन अर्को सम्भावना भएको क्षेत्र रहेको भन्दै नेपालले केहि समयका लागि कोभिड १९ का कारण पर्यटनको सम्भावना कम भएपनि भैरहवामा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थलका कारण तथा भारतीय पर्यटक लक्षित गर्दै पर्यटनको सम्भाव्यता विस्तार गर्नु आवश्यक रहेको बताए ।