माग पुरा नगरे आन्दोलनमा उत्रने शेयर लगानीकर्ता दबाब समूहको चेतावनी
काठमाडौं, १९ जेठ । शेयर लगानीकर्ता दबाब समूहले आफूहरुका माग पुरा नभए लकडाउन खुलेको दिनदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । समूहले नेपाल धितोपत्र बोर्डमा आन्दोलन शुरु गर्ने चेतावनी दिएको हो ।
लकडाउन अवधि भित्र आफूहरुका माग पुरा नभएमा लकडाउन अन्त्य भएकै दिनदेखि नै अर्थमन्त्री डा. युवराज खतिवडालाई बर्खास्त नगरेसम्म जारी रहने गरी पाँच जना लगानीकर्ताको आमरण अनशन शुरु हुने घोषणा पनि गरिएको छ । यससँगै धितोपत्र बोर्डका अध्यक्ष, गभर्नर, नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी, सीडीएससीका प्रमुखसहितको राजीनामाको माग पनि जोडिने जनाइएको छ ।
त्यस्तै कोरोना भाईरसका कारण गरिएको लकडाउँनले संकटग्रस्त बनेको देशको पूँजी बजार जोगाउँन माग सम्बोधन हुनुपर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमण र लगातारको लकडाउनबाट उठ्नै नसक्ने अबस्थामा पुगी बजारमा प्रत्यक्ष लगानी गरिरहेका लाखौं सर्बसाधारण लगानीकर्ताहरु प्रभावित बनेको अबस्थामा सरकारले नयाँ बजेटबाट राहत प्याकेज ल्याई बजारलाई उद्धार गर्छ भन्ने आशा तुहिएको पनि उल्लेख छ ।
यस्तो अबस्थामा लाखौं सर्बसाधारण शेयर लगानीकर्ताको सम्पति सुरक्षा गरी बजारको सुधार र बिस्तारका लागि बाध्यकारी अबस्था सिर्जना गर्न कम्तिमा एक हजार जना शेयर लगानीकर्ताहरु लकडाउन खुलेको दिनदेखि धितोपत्र बोर्डमा आन्दोलन गर्ने तयारीमा जुटेको बताइएको छ ।