सीएनआईद्वारा ‘इकोनोमिक सर्भाइभल सिरिज’को वेबिनार प्रतिवदन सार्वजनिक
काठमाडौं, २० जेठ । नेपाल उद्योग परिसंघले यही जेठ ५ देखि ८ गतेसम्म आयोजना गरेको ‘सीएनआई–इकोनोमिक सर्भाइभल सिरिज’को पोष्ट वेबिनार प्रतिवेदन सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष सतीशकुमार मोर र वरिष्ठ आर्थिक पत्रकारहरूले सोमवार भर्चुअल माध्यमबाट उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
उक्त प्रतिवेदनमा कोभिड–१९ बाट कसरी अर्थतन्त्रलाई बचाउने भन्ने विषयमा जेठ ५ देखि ८ गतेसम्म आयोजना गरिएको वेबिनारमा भएका छलफल र विचार समेटिएका छन् । वेबिनारको पहिलो सत्रमा ‘रेस्क्यू ः बैंकिङ एण्ड फाइनान्स’, दोस्रो सत्रमा ‘रेन्फोर्स इनर्जी एण्ड एग्रिकल्चर’, तेस्रो सत्रमा ‘रिस्टार्ट इण्डस्ट्री एण्ड लेबर’ र चौथो सत्रमा ‘रेस्पोण्ड इकोनोमी’ विषयक छलफल भएको थियो ।
प्रतिवेदन सार्वजनिक गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले अहिलेको विषम परिस्थितिमा सामान्य वित्तीय नीति तथा व्यवस्थाको सहाराले अर्थतन्त्र बाँच्न नसक्ने बताए । सबै मिलेर आर्थिक संकटको सामना गर्न र पुनरुत्थानमा जुट्न आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले प्रस्तुत गरेको उनको भनाइ छ । यस्तै परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वेबिनार छलफलमा उठेका विचार तथा सुझावका आधारमा कोभिड–१९ र लगातारको लकडाउनबाट उत्पन्न आर्थिक संकटबाट जोगिन अल्पकालीन राहत तथा दीर्घकालीन व्यवस्थामार्फत अर्थतन्त्र बचाउने उपाय प्रतिवेदनमा प्रस्तुत गरिएको जानकारी दिए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले उक्त प्रतिवेदनले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको संकट समाधान गर्नेतर्फ अघि बढ्न सघाउने विश्वास गरिएको बताए । परिसंघले सम्बन्धित निकायहरूमा समेत यो प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । उक्त वेबिनार कार्यक्रम तथा प्रतिवेदनको साझेदार फ्रस्ट एण्ड सुलिभान रहेको छ ।