असारयता ३७ अर्ब ६१ करोड राजस्व उठ्यो
काठमाडौं, १३ असार । आर्थिक वर्षको अन्तिम महिना असार लागेयता राजस्व संकलन केही बढेको छ । सरकारले चैतमा तिर्नुपर्ने राजस्व तिर्ने अवधि लम्ब्याएको थियो । सो राजस्व तिर्न सर्वोच्च अदालतले लकडाउन खुलेको एक महिनाभित्र तिरे हुने व्यवस्था गरेको भएपनि व्यवसायी, बैंक तथा औद्योगिक प्रतिष्ठानहरुले स्वतः स्फूर्त राजस्व बुझाएकाले सरकारको राजस्व बढेको हो । असार महिनाको १२ गतेसम्म ३७ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन दैनिक औसत ३ अर्ब १३ करोड रुपैयाँ हो ।
सामान्य अवस्थामा सरकारले दैनिक सवा दुई अर्ब रुपैयाँ राजस्व संकलन गर्दै आएकोमा लकडाउनपछि औसत ५० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन भएको थियो । मासिक राजस्व संकलन १५ अर्ब रुपैयाँ र खर्च दायित्व ४० अर्ब रुपैयाँ रहेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई खर्च चलाउन मुश्किल भएको उल्लेख गरेका थिए ।
सरकारले प्रारम्भिक रुपमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भएतापनि कोभिड–१९ पछि यसलाई संशोधन गरेर साढे आठ खर्ब हाराहारीमा राजस्व संकलन हुने बताउँदै आएको छ । तर असार १२ गतेसम्म ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
आयात र उपभोगमा आधारित राजस्व प्रणालीलाई कोभिड–१९ ले गम्भीर असर पारेपछि राजस्व संकलनमा ठूलो गिरावट आउने भएको हो ।