माथिल्लो तामाकोशी आयोजना : भर्टिकल साफ्टमा पेन स्टक जडान सम्पन्न
दोलखा, १५ असार । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भर्टिकल साफ्टमा पेनस्टक जडान सम्पन्न भएको छ । आयोजनाको सबै भन्दा कठिन मानिएको भर्टिकल साफ्ट (ठाडो सुरुङ)मा पेनस्टक जडान गर्ने काम सम्पन्न भएको हो ।
आयोजनाको सबै भन्दा कठिन काम मानिएको भर्टिकल साफ्ट मा पेनस्टक जडान गर्ने काम मध्ये ३१० मिटर लामो माथिल्लो भर्टिकसल साफ्टमा आइतवार पेनस्टक जडानको सम्पन्न भएको आयोजनाका प्रवक्ता डा. गणेश प्रसाद न्यौपानेले जानकारी दिए । ३७३ मिटर लामो तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडानको काम गत महिना नै सम्पन्न भइसकेको छ । बेन्ड पाइप बाहेक माथिल्लो भर्टिकल साफ्टको लम्बाई ३०४ दशमलव ८ तथा तल्लोको ३६६ दशमलब ६ मिटर रहेको आयोजनाले बताएको छ ।
माथिल्लो भर्टिकल साफ्टमा गत वर्र्ष असार १० गते बाट भारतीय कम्पनी टेक्सम्याको रेल्वे ईञ्जिनियरिङ तथा तल्लो भर्टिकल साफ्टमा गत वर्ष असार १ गते बाट अष्ट्रियन कम्नी एन्ड्रिज हाइड्रोले पेनस्टक जडान सुरु गरेका थिए । एक वर्ष भन्दा केही बढी समयमा आयोजनाकै सबै भन्दा कठिनकाम मानिएको पेनस्टकको जडान सम्पन्न भएको छ ।