संघ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
काठमाडौं, १५ असार । राष्ट्रियसभा बैठकले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । सभाको सोमवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् ।
बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसैगरी बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ‘राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७’ सभा समक्ष पेश गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही असार १७ दिउँसो १ बजे बस्नेछ ।