विदेशमा अलपत्र नागरिकको उद्धारका लागि आजदेखि पुनः चार्टर्ड उडान गरिँदै
काठमाडौं, १ भदौ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज (१७ अगष्ट) देखि पाँचौ चरणको उद्धार उडान गरिँदै छ । नेपालका दुई ओटा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन्, जस अनुसार नेपाल एयरलाइन्सले १७ र हिमालय एयरलाइन्सले १५ ओटा उडान गर्ने अनुमति पाएका छन् ।
यो चरणमा अगष्ट ३१ सम्म उद्धार उडान गरिने भएको छ । दैनिक ५०० नेपालीलाई चार्टर्ड उडानमार्फत स्वदेश ल्याइनेछ, जसमा ३०० जना आफ्नै खर्च तथा २०० जनाले भने सरकारी खर्चमा आउन पाउने छन् । स्वदेश फर्किने नेपालीलाई पीसीआर वा आरडीटी नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरिएको छ । यो उडानमार्फत करिब ७ हजार नेपाली फर्किने अनुमान गरिएको छ ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र रूपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् ।
सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैं टिकट काटेर आउनेछन् । स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने बताइएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६६२ रहेको छ ।