विद्युत प्राधिकरणको सञ्चित नाफा ४ अर्ब ८६ करोड
काठमाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६–०७७ मा ४ अर्ब ८६ करोड रूपैयाँ सञ्चित नाफा गरेको छ। प्राधिकरणले प्रकाशन गरेको विवरणअनुसार आर्थिक वर्ष २०७५–०७६ सम्म सञ्चित नोक्सानी १२ अर्ब २३ करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६–०७७ को अन्त्यमा आइपुग्दा विगत वर्षको आय ६ अर्ब ४ करोडसहित ४ अर्ब ८६ करोड रूपैयाँ सञ्चित नाफा भएको छ।
प्राधिकरणको सञ्चित नोक्सान २७ अर्ब रूपैयाँ पुगेपछि सरकारले आर्थिक वर्ष २०६७–०६८ मा त्यसलाई अपलेखन गरी शून्यमा झारिदिएको थियो। त्यसयता पनि प्राधिकरण निरन्तर सञ्चित नोक्सानीमा थियो। आर्थिक वर्ष २०७२–०७३ मा सञ्चित नोक्सान बढेर ३४ अर्ब ६१ करोड रूपैयाँ पुगेको थियो।
प्राधिकरण आर्थिक वर्ष २०७३–०७४ बाट नाफामा जान थालेको हो। सरकारले २०७३ भदौमा प्राधिकरणको नेतृत्व परिवर्तन गर्दै कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको थियो। घिसिङ प्राधिकरणमा आएयता उनले संस्थानलाई नाफामा मात्रै लगेन लोडसेडिङ यूगको अन्त पनि गरिदिए ।
आर्थिक वर्ष २०७६–०७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड रूपैयाँ नाफा गरेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ७७ अर्ब ८० करोड रूपैयाँ कमाएको विवरण सार्वजनिक गरेको छ।