चार्टर्ड उडानबाट स्वदेश फर्किने नागरिकलाई राख्ने क्वारेन्टाइन होटलको सूची र मूल्य सार्वजनिक
काठमाडौं, ५ भदौ । सरकारले चार्टर्ड उडानबाट स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० बेड क्षमता रहेको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले यही भदौ २ गते कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो । सोही आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो । तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिप्रका काठमाडौंका प्रशासकीय अधिकृत रमा घिमिरेले जानकारी दिएको राससमा उल्लेख छ ।
होटल व्यवसायी महासंघ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टाइन होटलको सूची सार्वजनिक गरिएको बताइएको छ । पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने छ ।
विभागले क्वारेन्टाइनमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ । पाँच तारे होटलमा एकल रू. नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति रू. ६ हजार तोकिएको छ । यस्तै चारतारे होटलमा एकल रू. आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रू. पाँच हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको रू. ६ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रू. पाँच हजार, दुई तारेमा एकल रू. पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति रू. तीन हजार ५००, एकतारेमा एकल रू. चार हजार र दुई जना भएमा प्रतिव्यक्ति रू. दुई हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल रू. दुई हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति रू. एक हजार ८०० शुल्क तोकिएको छ ।
पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ । पर्यटकस्तरको होटलले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ ।
क्वारेन्टाइनका लागि तोकिएका होटल र अन्य जानकारी निम्न लिंकबाट पनि पाउन सकिन्छ https://drive.google.com/file/d/1W_jmATjn3WQTN9z-_c8ZUfbR_NXvXWnS/view