Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

असारमा १०० अर्ब रेमिट्यान्स भित्रियो

असारमा १०० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष २०७६–७७ को अन्तिम महिना असारमा १०० अर्ब १६ करोड रुपैँया रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार अमेरिकी डलरमा रेमिट्यान्स गत वर्षको तुलनामा ३.३ प्रतिशतले घटेको भएपनि नेपाली रुपैँयामा ०.५ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षमा चैत महिनामा रेमिट्यान्स उल्लेख्य घटेको भएपनि वैशाखदेखि क्रमशः सुधार हुने क्रम देखिएको थियो । जेठ र असार महिनामा भने उल्लेख्य रेमिट्यान्स भित्रिएपछि गत वर्षको भन्दा चार अर्ब २४ करोड रुपैँया मात्र रेमिट्यान्स कम देखिन्छ । आर्थिक वर्ष २०७५–७६ मा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैँया रेमिट्यान्स भित्रिएकोमा गत वर्ष ८ खर्ब ७५ अर्ब रुपैँया २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

महामारीको अप्ठेरो समयमा समेत रेमिट्यान्स बढ्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । तर, आयातको न्यूनबीजकीकरण गरेर हुण्डीमार्फत् विदेशमा कार्यरत नेपालीको पैसा आयातको भुक्तानी फछ्र्यौटका लागि प्रयोग भैरहेको अनुमान गरिएको छ । अर्कोतर्फ,रोजगारी गुमाएर स्वदेश फर्कने भएपछि नेपालीहरुले आफूसँग रहेको बचत पनि रेमिट गरेका हुनसक्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट बताउँछन् । अर्कोतर्फ बिरामी भएको अवस्थामा बाहेक विदेशमा नेपालीको खर्च पनि घटेको छ भने नेपालमा परिवारको आम्दानीमा धक्का लागेकाले रेमिट्यान्समा निर्भर परिवारलाई सहयोग गर्न विदेशमा कार्यरतले पठाउने पैसा बढाएको पनि हुनसक्ने उनले बताए ।
त्यस्तै, वार्षिक मुद्रास्फिति ६.१५ प्रतिशत रहेको छ । असार महिनाको मुद्रास्फिति भने जेठको तुलनामा सामान्य बढेर ४.५४ बाट ४.७८ प्रतिशत रहेको छ । २०७५–७६ को असार महिनामा भने उपभोक्ता मूल्यवृद्धि ६.०२ प्रतिशत थियो ।

रेमिट्यान्सको वृद्धि र आयात घटेसँगै विदेशी मुद्राको सञ्चिति उच्च भएको छ । मुलुकको विदेशी विनिमय सञ्चिति १२ अर्ब अमेरिकी डलर अर्थात् १४ खर्ब ४९ करोड रुपैँया पुगेको छ । गत आर्थिक वर्ष २०७६–७७ मा आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब रुपैँयाको आयात भएको छ । त्यस्तै, निर्यात सामान्य रुपमा ०.६ प्रतिशत बढेर ९७ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षमा व्यापार घाटा १६.८ प्रतिशतले घटेर १० खर्ब ९९ अर्ब रुपैँया रहेको छ ।

आयातको भुत्तानीमा बाहिरिने रकम घटेपछि मुलुकको शोधनान्तर बचत २ खर्ब ८२ अर्ब ४८ करोड रुपैँया बचतमा रहेको छ । गत वर्ष यस्तो बचत ६७ अर्ब ४० करोड रुपैँयाले घाटामा रहेको थियो । आयात घट्दा मुलुकको बाह्य क्षेत्र सन्तुलनमा सुधार देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x