Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ठमेलबाट ७ सय साना व्यवसायी अन्यत्र सरे, ठूला व्यवसायी के गर्ने भन्ने दुविधामा

ठमेलबाट ७ सय साना व्यवसायी अन्यत्र सरे, ठूला व्यवसायी के गर्ने भन्ने दुविधामा

काठमाडौं, १० भदौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण व्यापार, व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रबाट सयौ व्यवसायी अन्यत्र सरेका छन् । पूर्णरुपमा पर्यटकमा निर्भर ठमेलको व्यापार, व्यवसाय गएको चैत यता ठप्प छ । ठमेल पर्यटन विकास परिषद्का अनुुसार व्यवसाय नहुँदा घर भाडा तिर्न गाह्रो भएपछि ७ सयको हारामारीमा व्यवसायीले पसल र कार्यालय अन्यत्र सारिसकेका छन् ।

परिषद्का उपाध्यक्ष भवि शर्माका अनुसार विस्थापित हुने व्यवसायीहरुको संख्या पछिल्लो समय थप बढेको छ । कोरोना संक्रमण केही दिनपछि नियन्त्रणमा आउछ र पर्यटन क्षेत्र पुन चलायमान हुन्छ भन्ने आशमा बसेका व्यवसायीहरुले समेत अहिले संक्रमण बढ्दै गएपछि कोरोना माहामारी तत्काल हल नहुने बुझेर सम्भावित ठाउँमा अफिसहरु सारेको उनले बताए ।

साना व्यवसायीले आफ्ना पसल र कार्यालय अन्यत्र सारेपनि ठूला व्यवसायीलाई के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । महामारी बढ्दै गए लामै समयसम्म पर्यटन व्यवसाय प्रभावित हुने भएकाले अव कसरी व्यवसाय बचाउने भन्ने गृहकार्यमा व्यवसायी लागेको शर्माले बताए ।

काठमाडौंको अन्य क्षेत्रको तुलनामा ठमेल क्षेत्रको घरभाडा दोब्बर बढी छ। गएको फागुनदेखि नै व्यवसाय ठप्प भएको र घरभाडा तिर्न मुश्किल पर्न थालेपछि भाडा सस्तो भएको सोह्रखुट्टे क्षेत्रमा आफ्नो व्यवसाय सारेको हस्तकला व्यवसायी निरोज श्रेष्ठले जानकारी दिए ।

व्यवसायीका अनुसार ठमेलमा १७ सय घरधनीको भवन तथा सटर भाडामा लिएर झन्डै ५२ सयले विभिन्न प्रकारका व्यवसाय गर्दै आएका छन् ।

उसो त कोरोनाले प्रभावित व्यवसाय बचाउन ठमेल क्षेत्रका घरधनी र व्यवसायीबीच ५० प्रतिशत भाडा छुट दिने सहमति भएको थियो । तर कतिपयले ५० प्रतिशत भाडा समेत तिर्न सक्ने अवस्था छैन् भने कतिपय घरधनीले उक्त सम्झौता कार्यान्वयन नै गरेका छैनन् ।

उक्त सम्झौतालाई सकेसम्म प्रभावकारी बनाएको शर्माको दाबी छ । ‘घरधनी र व्यवसायीको संयुक्त पत्रकार सम्मेलनमा उहाँहरुले नै ३० देखि ७० प्रतिशतसम्म भाडा समायोजन गर्ने, भाडाकै कारण व्यवसायी पलायन हुन नदिने बाचा गर्नुभएको छ । अव त्यो अनुसार नभएको भए पुनः अनुगमन गछौं । र कडाईका साथ कार्यान्वयमा ल्याउछौ ’ उनले भने ।

ठमेललाई पर्यटकीय नगरिको रुपमा समेत चिनिन्छ । व्यवसायीहरुका अनुसार नेपाल भ्रमणमा आएका ८० प्रतिशत पर्यटक एक पटक ठमेल नपुगी स्वदेश फर्कदैनन् । उनीहरु ठमेलमा घुम्ने, खाने र सपिङ गर्ने गर्छन । सोही कारण पनि ठमेलमा हस्तकला सामाग्री, रेष्टूरेन्ट देखि पर्यटकीय स्तरका होटल तथा अन्य किसिमका अफिसहरु प्रशस्तै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x