धनगढी उप–महानगरपालिका र जर्मन सरकारबीच दीगो फोहोर व्यवस्थापन सम्बन्धी सम्झौता

धनगढी, २४ भदौ । धनगढी उप–महानगरपालिका र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (जीआईजेड) बीच एकिकृत तथा दीगो फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालने सम्झौता भएको छ । उक्त सम्झौता गत सोमबार काठमाडौंमा भएको हो । सम्झौतापत्रमा धनगढी उप–महानगरपालिकाका तर्फबाट नगरप्रमुख नृप बहादुर वड र जीआईजेडका तर्फबाट तिर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता भदौ २२ गतेदेखि नै प्रभावकारी हुने नगरप्रमुख नृप बहादुर वडले बताए । ‘यो कार्यक्रम अन्तरगत फोहोरलाई श्रोतमै पृथकीकरण गरिने छ ।’ नगरप्रमुख वडले भने, ‘स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाबाट उत्पादन हुने संक्रामक फोहोरलाई व्यवस्थापन तथा पुनः चक्रिकरण गरि नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीमा एकिकृत गरिने छ ।’
उप–महानगरपालिकाले एकिकृत फोहर व्यवस्थापनका लागि नीति तथा रणनीति तयार गर्ने, फोहर श्रोतमै उचित पृथकीकरण गर्ने, संक्रामक फोहर उपचार प्रणालीको स्थापना गर्ने, ब्यावहारीक तथा दिगो विकास मोडेलको विकासमा सहयोग गरिने छ भने जीआईजेडले प्राविधिक सहयोग तथा क्षमता विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने नगरप्रमुख वडले बताए ।