आजदेखि मुलुकभर सञ्चालन हुँदै सार्वजनिक सवारीसाधन
काठमाडौं, १ असोज । विगत ६ महिनादेखि बन्द रहेको देशव्यापी सार्वजनिक सवारीसाधन आज (बिहीवार)देखि सञ्चालनमा आउँदै छन् । गत चैत ११ गते लकडाउन शुरू भएदेखि नै बन्द रहेको सार्वजनिक यातायातका साधन आज विश्वकर्मा पूजा गरेर सञ्चालनमा ल्याइने यातायात व्यवसायीले बताएका छन् । मंगलवार सरकारले असोज १ गतेदेखि आम सार्जजनिक यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको थियो । यसँगै आवश्यक तयारीसहित सम्बन्धित निकायसँग यातायात व्यवसायीले छलफल गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, र तीनवटा मजदूर टे«ड युनियन नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले बुधवार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै बिहीवारदेखि लामा, मध्यम छोटा र स्थानीय रूटमा सबै गाडी सञ्चालन गरिने उल्लेख गरेका थिए । यस्ता सवारीसाधनले यात्रुसँग साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।
सार्वजनिक यातायातका लागि सरकारले छुट्टै मापदण्ड समेत जारी गरेको छ, जसअनुसार यात्रुले मास्क र सेनिटाइजरको अनिवर्या प्रयोग गर्नुपर्नेछ । सवारीसाधनले कुल सिट क्षमताको आधामात्र यात्रु राख्न पाउनेछन् । अनलाइन प्रणाली र साविक काउण्टरमा स्वास्थ्य सावधानी अपनाएर टिकट काट्न सकिनेछ । एक जिल्लाबाट अर्को जिल्ला जान पीसीआर रिपोर्ट आवश्यक पर्नेछैन । तर सवारीका कर्मचारले मास्क, सेनिटाइजर, पञ्जा, फेस फाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । यस्तै खाना खाने ठाउँमा भौतिक दूरी कायम गर्नुपर्नेछ ।
सरकारले सार्वजनिक यातायात देशभर सञ्चालनका लागि अनुमति दिए पनि सबै जिल्लामा भने चल्न पाउने छैनन् । तराईका अधिकांश जिल्लामा अहिले पनि निषेधाज्ञा जारी रहेकाले अहिले नै देशभर सार्वजनिक सवारीसाधन चलाउन सम्भव नभएको हो ।