एनआरएनएको १३औं युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलन सम्पन्न

काठमाडौं, १९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलन असोज १७ र १८ गते सम्पन्न भएको छ । ‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ मूल नारा रहेको सम्मेलनमा ११औं यूरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए ।
नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेको सम्मेलनमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले सम्वोधन गरेका थिए । विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्बोधन गरेका थिए भने अन्य सत्रहरूमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, पूर्वमन्त्री तथा नेकपा नेता डा. गंगाधर तुलाधर, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, राजदूतहरु, एनआरएनएका केन्द्रीय नेतृत्व, पूर्व अध्यक्षहरू, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, संचारकर्मी तथा गैरआवासीय नेपालीहरुको उत्साहजनक सहभागिता रहेको संस्थाले बताएको छ ।
कोभिड १९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले कोभिड १९, गैरआवासीय नेपाल नागरिकता ऐन, युरोपेली बजारमा नेपाली वस्तुको प्रवद्र्धन, नेपालको पूर्वाधार क्षेत्रमा लगानी, पर्यटन पुनरुत्थानमा साझेदारी, युरोपेली आकाशमा नेपाली ध्वजावाहक विमान प्रवेश अनुमति दिलाउन पहल गर्ने, कतिपय युरोपेली मुलुकमा नेपाली नियोग स्थापनाको विषय, नेपाली महिलाको शीप विकास, युरोपेली मुलुकमा नेपाली भाषा, संस्कृति प्रवद्र्धन, भूतपूर्व गोर्खाको शीप अनुभव नेपालमा लगाउने, समृद्ध नेपाल सुखी नेपाली अभियानमा हातेमालो गर्ने, कोभिडका कारण रोजगारी गुमाएका नेपालीमा रोजगारमा सघाउने लगायत विषयमा विभिन्न १८ बुँदे निर्णय गरेको छ ।