नेपाल बैंकको विशेष साधारण सभा सम्पन्न, नियमावली संशोधन गरिने

काठमाडौं, १९ असोज । नेपाल बैंक लिमिटेडको विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको विशेष साधारण सभाले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरेको छ ।
जसअनुसार अब सरकारबाट मनोनित हुने चार जना सञ्चालकलाई घटाएर तीन जना बनाउने र सर्वसाधारण शेयरधनीकोतर्फबाट निर्वाचित हुने दुई जना सञ्चालकबाट वृद्धि गरी तीन जना कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गरिने छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकुल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।