एक वर्ष अवधिमा करिब चार सय अंकले उक्लियो शेयर बजार
काठमाडौं, १८ कात्तिक । एक वर्ष अवधिमा नेपालको शेयर बजार करिब ४०० अंकले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ भदौ मसान्तमा ११५०.७ रहेको नेप्से परिसूचक यस वर्षको सोही अवधिमा १५४१.४ पुगेको छ । २०७७ असार मसान्तमा भने यस्तो सूचकांक १३६२.४ रहेको थियो ।
समीक्षा अवधिमा धितोपत्र बजार पूँजीकरण रू.२० खर्ब ४९
अर्ब २८ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण रू. १७९२ अर्ब ७६ करोड थियो । २०७७ भदौ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१० रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७५.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १३.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ भदौसम्ममा सूचीकृत ४ अर्ब ८७ करोड शेयरको चुक्ता मूल्य रु.४७७ अर्ब ७९ करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा रु. १ खर्ब बराबरको विकास ऋणपत्र, रू. ४ अर्ब ४५ करोड बराबरको साधारण शेयर, रू. ३ अर्ब ८७ करोड बराबरको बोनस शेयर, रू. २ अर्ब बराबरको डिबेन्चर, ७० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युअुचल फण्ड गरी कुल रू. १ खर्ब ११ अर्ब ६७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।