२० अर्बको विकास ऋणपत्रको विक्री आज, आन्तरिक ऋण उठाउने चौमासिकको लक्ष्य पूरा हुने
काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले निष्कासन गरेको २० अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीका लागि बोलकबोल आज (बुधवार) हुँदै छ । दशवर्षे अवधिको उक्त परिमाणको ‘विकास ऋणपत्र २०८७ घ’ को विक्री अपराह्न २ बजेसम्ममा गरिने जानकारी राष्ट्र बैंकले दिएको छ । अर्धवार्षिक रूपमा ब्याज उपलब्ध गराइने यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक समेत खरिद गर्न सक्नेछन् ।
विक्रीका लागि छुट्याइएको कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र ३ अर्ब रुपैयाँ छुट्याइएको छ । सोमध्ये अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने केन्द्रीय बैंकले बताएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
ऋणपत्र खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउनेछैनन् ।
सरकारले चालू आर्थिक वर्षभित्र रू. २ खर्ब २५ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ, जसअनुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब उठाउनुपर्नेछ । राष्ट्र बैंकले यसअघि विकास ऋणपत्रको माध्यमबाट रू. ३० अर्ब र ट्रेजरी बिलबाट रू. ७ अर्ब उठाइसकेको छ । आज विकास ऋणपत्रमार्फत रू. २० अर्ब उठाएसँगै आन्तरिक ऋण उठाउने चालू आवको चौमासिक लक्ष्य पूरा हुनेछ ।