विराटनगर एकीकृत भन्सारले भेट्न सकेन राजस्व लक्ष्य
विराटनगर, २३ कात्तिक । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो तीन महिना अवधिमा राजस्व संकलनको लक्ष्य भेट्न सकेको छैन । उक्त अवधिमा कार्यालयले कुल रू. १० अर्ब १ करोड १८ लाख ६ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा रू. ७ अर्ब ९३ करोड ३० लाख ४२ हजार मात्र राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा करिब २१ प्रतिशत कम हो ।
संकलित राजस्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल भएको छ । कार्यालयले गत आवको सोही अवधिमा रू. ८ अर्ब ९९ करोड ३८ लाख राजस्व संकलन गरेको थियो । राजस्व संकलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रू. १ अर्ब छ करोड ७ लाख कम हो भने चालू आर्थिक वर्षमा लक्ष्यको भन्दा रू. २ अर्ब सात करोड ८७ लाख कम हो ।
संकलित राजस्वमा भन्सार महसुल आयाततर्फ रू. ३ अर्ब १७ करोड २ लाख ९२ हजार, मूल्यअभिवृद्धि कर रू. ३ अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क रू. ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ रू. ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क रू. २७ करोड ६३ लाख, भन्सारको अन्य आय रू. ९४ लाख ३६ हजार र पूर्वाधार कर रू. १८ करोड १४ लाख ४० हजार रहेको कार्यायले जानकारी दिएको राससमा उल्लेखछ । कार्यालयले चालू आर्थिक वर्षको तीन महिनाको शुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको छ ।