१ महिना अवधिमा उद्योग क्षेत्रमा डेढ अर्बले बढ्यो लगानी प्रतिबद्धता
काठमाडौं, २९ कात्तिक । कोभिड महामारीकै बेला पनि मुलुकको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता आउने क्रम जारी रहेको छ । १ महिना अवधिमा यस क्षेत्रमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिना अवधिमा नेपालको उद्योग क्षेत्रमा स्वदेशी एवं विदेशी लगानीकर्ताले रू. ६४ अर्ब २ लाख लगानी प्रतिबद्धता गरेका छन्, गत महिना अर्थात् असोज मसान्तसम्ममा यो रू. ६२ अर्ब ३७ करोड १७ लाख थियो ।
मुलुकको उद्योग क्षेत्रमा स्वदेशी सहित भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण अफ्रिकालगायत मुलुकका लगानीकर्तामार्फत लगानी आउने गरेको विभागले बताएको छ ।
विभागका ७० वटा उद्योग स्थापनाका लागि भन्दै प्रथम चौमासिकमा उक्त लगानी प्रतिबद्धता आएको हो । यी सबै उद्योग स्थापनापछि ४ हजार ४२३ जनाले रोजगारी पाउने लगानीकर्ताले उल्लेख गरेका छन् । सो अवधिमा पनि सबैभन्दा बढी ऊर्जामा ५१ अर्ब २४ करोड ६५ लाख लगानी प्रतिबद्धता आएको छ । गत महिनामा पनि ऊर्जामा आएको लगानी प्रतिबद्धता सोही परिमाणको थियो ।
यसैगरी उत्पादनमा ३ अर्ब ९१ करोड २६ लाख, पर्यटनमा २ अर्ब ९० करोड ३२ लाख, सेवामा २ अर्ब ५८ करोड, कृषि तथा वन पैदावारजन्य उद्योगमा २ अर्ब ३८ करोड ४१ लाख र सबैभन्दा कम सूचना तथा सञ्चार प्रविधिमा ६० करोड लगानी प्रतिबद्धता गरिएको छ । ११ वटा ऊर्जाका, १६ वटा उत्पादनमूलक, १३ वटा पर्यटनमूलक, १६ वटा सेवामूलक, १० वटा कृषि तथा वन पैदावरजन्य र चारवटा सूचना तथा प्रसारण प्रविधिका उद्योग स्थापनाका लागि लगानीकर्ताले सो लगानी प्रतिबद्धता गरेको विभागले बताएको छ ।