संघीय सरकारी खर्च १३ प्रतिशतले बढ्यो
काठमाडौं, ३० कात्तिक । चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा संघीय सरकारी खर्च १३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा २ खर्ब १ अर्ब ८ करोड रुपैयाँ संघीय सरकारी खर्च भएको हो । गत वर्षको सोही अवधिमा संघीय सरकारी खर्चतर्फ १ खर्ब ७८ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
कुल खर्चमध्ये चालु खर्च १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भएको छ भने पूँजीगत खर्च १५ अर्ब ५ करोड रुपैयाँ भएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।
समीक्षा अवधिमा चालु खर्च १६.५ प्रतिशत वृद्धि भएको छ । वित्तीय व्यवस्थापतर्फ १८.४ प्रतिशत वृद्धि भएको छ भने पूँजीगत खर्च १८.१ प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पूँजीगत खर्चमा सुधार हुन नसकेको मन्त्रालयले आकलन छ ।