कोरोना भ्याक्सिनको पहुँच विस्तार गर्न एडिबीको २ करोड डलरको प्याकेज
काठमाडौं, ३ मंसिर । एसियाली विकास बैंक (एडिबी) ले कोरोना भाइरस प्रतिरोधात्मक भ्याक्सिनसम्मको पहुँच विस्तार गर्न आफ्ना विकासशील सदस्यका लागि २ करोड ३ लाख अमेरिकी डलर बराबरको सहायता दिने घोषणा गरेको छ। एडिबीले भ्याक्सिनको प्रभावकारी र समतामूलक वितरणका लागि प्राविधिक सहायता मार्फत् यो रकम उपलब्ध गराउने भएको हो।
कोरोना भाइरस प्रतिरोधात्मक भ्याक्सिनको ढुवानी, भण्डारणको पूर्वतयारी र यसको वितरणको प्रभावकारिताको मूल्यांकनका लागि यो रकम खर्च गरिनेछ। एडिबीले कोरोना भाइरसको भ्याक्सिन उपलब्धतासँगै आफ्ना सदस्य राष्ट्रहरूमा त्यसको सहज, प्रभावकारी र व्यवस्थित उपलब्धता एवं वितरणका लागि सहयोग गर्ने भएको हो।
यो रकममध्ये २ करोड डलर एडिबीको प्राविधिक सहायता विशेष कोषबाट व्यहोरिनेछ भने बाँकी ३ लाख डलर जापान सरकारको सहयोग रहनेछ। एडिबीले यसअघि २० अर्ब डलरको विस्तृत सहायता प्याकेज घोषणा गरिसकेको छ।