प्रथम चौमासमा झीनो अंकले बढ्यो पूँजीगत खर्च
काठमाडौं, ४ मंसिर । कोरोना महामारीका बीच सरकारको पूँजीगत खर्चमा केही सुधार भएको पाइएको छ । गत आर्थिक वर्षको प्रथम चौमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा विकासलक्षित पूँजीगत खर्च १ दशमलव ५८ प्रतिशतले बढेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको पूँजीगत खर्च विनियोजित बजेटको ६.७६ प्रतिशत रहेकोमा चालू आवको यसै अवधिमा ८.३४ प्रतिशत रहेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा रू. २९ अर्ब ४४ करोड विकास बजेट खर्च भएको छ । आर्थिक वर्षका लागि सरकारले पूँजीगततर्फ रू. ३ खर्ब ५३ अर्ब बजेट विनियोजन गरेको छ । यस्तै सोही अवधिमा सरकारको चालू खर्च कुल विनियोजनको २४ दशमलव २५ प्रतिशत भएको छ ।
यो अवधिमा सरकारले रू. २ खर्ब ४० अर्ब राजस्व आम्दानी गरेको छ। जुन कुल लक्ष्यको करिब २३ दशमलव ७४ प्रतिशत हो । कुल राजस्वमा कर राजस्व २ खर्ब २६ अर्ब ३ करोड र गैरकर राजस्व १४ अर्ब ११ करोड असुली भएको छ । सरकारले आर्थिक वर्षको पहिलो ४ महिनासम्ममा २५ प्रतिशत राजस्व आम्दानीको लक्ष्य राखेको थियो । सरकारले चालू आवमा १० खर्ब ११ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ ।