Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सार्वजनिक यातायातमा अनलाइन नियमन शुरू, व्यवसायीलाई आजदेखि प्रणालीमा आबद्ध गराइँदै

सार्वजनिक यातायातमा अनलाइन नियमन शुरू, व्यवसायीलाई आजदेखि प्रणालीमा आबद्ध गराइँदै

काठमाडौं, ५ मंसिर । सार्वजनिक यातायातलाई पारदर्शी र जवाफदेही बनाउन नेपालमा पहिलोपटक प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणालीको थालनी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम) को उद्घाटन गरेका छन् ।
सार्वजनिक यातायातमा टिकट खरिद विक्रीमा रहेका विकृति हटाउन प्रणालीले सहयोग गर्न विश्वास लिइएको छ । प्रणालीमार्फत यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत नियामक निकायले कार्यालयबाटै सवारीसाधनको नियमन गर्न सक्नेछन् । यातायात कम्पनी प्रणालीमा आबद्ध भएपछि सार्वजनिक सवारीसाधन कुन रूटमा, कति बजे छुट्ने, कति यात्रु र कसले टिकट काटे, यात्रुको सम्पर्क नम्बरसमेत जानकारी पाउन सकिन्छ ।
मन्त्री नेम्वाङले सार्वजनिक यातायातलाई पारदर्शी र जवाफदेही बनाउन प्रविधिको प्रयोगले सहयोग गर्न विश्वास व्यक्त गरे । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक प्रतिनिधिसभामा छलफलका क्रममा छ । प्राधिकरणले यातायातका क्षेत्रमा रहेका धेरै समस्याको समाभान गर्ने उनको भनाइ छ । ‘सार्वजनिक यातायातमा गर्नुपर्ने काममध्ये एउटा अनलाइन टिकट पनि हो,’ मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले विगतमा सार्वजनिक सवारीसाधन दुर्घटना हुँदा त्यसमा कति यात्रु थिए भन्नेसमेत जानकारी नहुने गरेको बताए । उनका अनुसार अनलाइन मोनिटरिङले गर्दा कुनै पनि कम्पनीले टिकट भएर नदिएको वा नभएर नदिएकोदेखि एउटै सिटको टिकट धेरै यात्रुलाई दिएको भए पनि त्यसको जानकारी हुनेछ । विभागले अहिले यातायात व्यवस्थापनमा केन्द्रित भइरहेको उनको भनाइ छ ।
विभागका निर्देशक डा. लोकनाथ भुसालले विभागले यो प्रणालीमार्फत कार्यालयबाटै कुन सवारीसाधनमा कति यात्रु छन्, कति बजे गुड्यो र कहाँ जाँदैछ भन्नेलगायत जानकारी पाउने बताए । उनका अनुसार विभागले आज शुक्रवारदेखि नै यो प्रणालीमा आबद्ध हुन यातायात कम्पनीलाई पत्राचार गर्नेछ ।
प्रणालीका डिजाइनर मोहन बेल्वासेले यसले गर्दा नियामक निकाय, यात्रु र व्यवसायी सबैलाई फाइदा हुने बताए । कुनै पनि यात्रुले समस्या परेको गुनासो गरेमा त्यसको तत्काल समाधान गर्न सकिने उनको भनाइ छ । विभागले ‘मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुबाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद विक्री निर्देशका, २०७७’ अनुसार नै प्रणाली शुरू गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x