वाणिज्य बैंकको नाफामा कोभिड प्रभाव, प्रथम त्रैमासमा ४ प्रतिशतले घट्यो

काठमाडौं, ६ मंसिर । कोभिड महामारीका कारण आर्थिक व्यावसायिक गतिविधि सुस्ताउँदा यसको असर बैंक तथा वित्तीय संस्थाको नाफामा पनि परेको छ । कोरोना संक्रमण रोकथामका लागि लामो समय गरिएका लकडाउन, निषेधाज्ञा लगायत कारणले समेत बैंकिङ सेवा प्रभावित भएको थियो । महामारीकै कारण चालू आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरूको नाफा खस्किन पुगेको छ । सो अवधिमा अधिकांश बैंकहरूको मुनाफा घटेको छ ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४ दशमलव २२ प्रतिशतले घटेको देखिन्छ ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको मुनाफा १५ अर्ब ११ करोड ४८ लाख ७२ हजार रहेकोमा चालू आवको सोही अवधिमा सो अवधिमा १४ अर्ब ४७ करोड ७१ लाख १ हजार रहेको छ ।
सम्बन्धित बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा ग्लोबल आईमएमई बैंकको मुनाफा रू. १ अर्ब ४ करोड ८८ लाख मुनाफा रहेको छ, जुन सबै बैंकको भन्दा धेरै हो । सर्वाधिक नाफा कमाउनेमा दोस्रोमा नबिल बैंक रहेको छ । सो अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख मुनाफा आर्जन गरेको छ ।
चालू आवको प्रथम त्रैमासमा एनआईसी एशिया बैंक रू. १ अर्ब २ करोड १० लाख कमाउँदै सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ ।
यसैगरी सोही अवधिमा प्राइम कमर्शियल बैंकले १ अर्ब १ करोड ७६ लाख, प्रभुु बैंकले ८५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८२ करोड ९२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६२ करोड ३८ लाख, कुमारी बैंकले ६० करोड २५ लाख, मेगा बैंकले ६० करोड ७९ लाख, नेपाल बंगलादेश बैंकले ५७ करोड ११ लाख, नेपाल बैंकले ५५ करोड ४ लाख, सिटिजन्स बैंक इन्टरनेशनलले ५१ करोड ५५ लाख खुद मुनाफा आर्जन गरेका छन् ।
यस्तै चालू आवको प्रथम त्रैमासमै सरकारी स्वामित्वको कृषि विकास बैंकले सोही अवधिमा ३३ करोड ४५ लाख, लक्ष्मी बैंकले ३१ करोड २३ लाख मुनाफा कमाएका छन् । यस्तै बैंक अफ काठमाण्डू, सेञ्चुरी, नेपाल एसबिआई र सिभिल बैंकको मुनाफा क्रमशः २४ करोड २४ लाख, २२ करोड २ लाख, २० करोड ५ लाख र ९ करोड ६६ लाख रहेको छ ।
सोही अवधिमा सिद्धार्थ बैंकको मुनाफा ५० करोड ६ लाख, स्ट्यान्डर्ड चार्टर्ड, सन्राइज र सानिमा बैंकको क्रमशः ४० करोड १३ लाख, ३८ करोड ३९ लाख र ३७ करोड ३३ लाख रहेको छ भने हिमालयन, माछापुच्छे«, एभरेष्ट र एनसीसी बैंकले क्रमशः ३६ करोड ५९ लाख, ३६ करोड ९ लाख र ३३ करोड ४७ लाख मुनामा कमाएका छन् ।