अर्थतन्त्र उकास्न क्षमता अनुसारको राहत प्याकेज ल्याएका छौं : प्रधानमन्त्री ओली
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट तहसनहस भएको अर्थतन्त्रलाई माथि उकास्न नेपालले आफ्नो क्षमता अनुसार राहतको प्याकेज ल्याएको बताएका छन् ।
‘निजी क्षेत्रका साथीहरुले अहिलेको राहत प्याकेजले पुगेन भनिरहनु भएको छ,’ आज नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभालाई उद्घाटन गर्दै उनले भने, ‘ त्यो कुरामा म सहमत छु, तर, हाम्रो देशको क्षमता कति छ ? भन्ने कुरामा म भन्दा बढी जानकारी तपाईहरु नै हुनुहुन्छ ।’
देशको ढुकुटी रित्तो रहेकाले व्यवसायीलाई सन्तुष्ट हुनेगरी राहतको प्याकेज ल्याउन नसकिएको उनको भनाइ छ । देशमा उद्योग व्यवसाय नफस्टाएसम्म देश समृद्ध बन्दैन भन्नेमा सरकार प्रष्ट भएपनि सरकारसँग क्षमता नभएको उनले बताए ।
प्रधानमन्त्री ओलीले हालको महासंघको नेतृत्वले देशको आर्थिक विकासमा पुर्याएको योगदानको बारेमा समेत चर्चा गरे ।
त्यस्तै कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले कोभिड १९ ले मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कठिन अवस्थामा पुर्याएको बताउँदै धेरै ठूला अर्थतन्त्र ऋणात्मक भएको, अनौपचारिक क्षेत्रका दुई अर्बमध्ये एक अर्ब ६० करोड मानिसहरुको अवस्था गम्भीर बनेको बताइन् । नेपालमा पर्यटनसहितका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएको र ३१ प्रतिशत उद्योगहरु पूर्णरुपमा बन्द भएको जानकारी गराउदै ऋण तिर्न, बिद्युत महशुल तिर्न, कर तिर्न धेरै उद्योग व्यवसायहरुलाई कठिन अवस्था सिर्जना भएको बताइन् ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले महासंघका पूर्व अध्यक्षहरु र प्रदेश प्रमुखहरुलाई सम्मानित पनि गर्नु भएको थियो ।