Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रदेशस्तरमा इन्धन भण्डारण क्षमता बढाउँदै निगम

प्रदेशस्तरमा इन्धन भण्डारण क्षमता बढाउँदै निगम

धनगढी, ११ मंसिर । नेपाल आयल निगमले प्रदेशस्तरमा इन्धन भण्डारण क्षमता बढाउने काम अघि बढाएको छ । गत कात्तिक २७ गते गण्डकी प्रदेशको पोखरामा १ करोड लिटर क्षमताको भण्डारणका निर्माण शुरू गरेको निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन निगमले नयाँ डिपो स्थापनाको पहल थालेको छ । निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताएका छन् ।
यसका लागि कैलालीको गोदावरी नगरपालिका, स्याउले बजार नजीक रहेको शिवशक्ति महिला सामुदायिक वन क्षेत्रको जग्गाको पहिचान गरिएको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले केही दिनअघि सो जग्गाको स्थलगत रूपमा अध्ययन गरेको थियो । उनका अनुसार नयाँ डिपो स्थापनाका लागि पहिचान गरिएको जग्गा प्राप्तिको पहल गर्न लागिएको हो । जग्गा प्राप्तिपछि ‘भर्टिकल’ ट्यांकीसहितका संरचना निर्माणको प्रक्रिया शुरू गरिनेछ ।
झण्डै चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको कार्यालय परिसरमा पेट्रोलिम पदार्थको भण्डारण क्षमता घट्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा हाल दैनिक ४०० किलोलिटर डिजल र २०० किलोलिटर पेट्रोलको माग रहेको बताइएको छ । सो मागका आधारमा निगमसँग तीन दिनलाई पुग्ने क्षमताको डिजलको ट्यांकी र आधा दिनलाई पुग्ने क्षमताको पेट्रोलको ट्यांकी मात्र छन् । माग बढ्दै जाँदा डिपोमा भण्डारण गरिने पेट्रोलियम पदार्थले धान्न नसक्दा ढुवानी गर्ने ट्यांकरमा नै पेट्रोलियम पदार्थ भण्डारण गरिराख्नुपर्ने अवस्था छ ।
कार्यालय परिसरमा रहेको भण्डारण डिपो पछिल्ला वर्षमा मानव बस्तीले घेरिन थालेसँगै कुनै पनि समयमा जोखिम निम्तिन सक्ने खतरा पनि छ । डिपो परिसरमा पेट्रोलियम पदार्थ लिएर आउने ट्यांकर अड्याउने ठाउँसमेत अभाव हुँदा कार्यालय बाहिर रहेको ‘छ लेन’ सडकका छेउमा ट्यांकर अड्याएर राख्नुपर्ने अवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x