थानकोटमा जर्मनीको सहयोगमा मातृत्व तथा स्त्रीरोग अस्पताल बन्ने तयारी तीव्र
काठमाडाैं, २२ कार्तिक । चन्द्रागिरी नगरपालिका–४, थानकोटमा मातृत्व तथा स्त्रीरोग विशेष अस्पताल निर्माणको तयारी तीव्र गतिमा अघि बढाइएको छ। सो परियोजनाबारे शुक्रबार चन्द्रागिरीका नगरप्रमुख घनश्याम गिरी र नेपालका लागि जर्मन राजदूत उदो युजेन भोल्जबीच विशेष भेटवार्ता भएको छ।
भेटका क्रममा दुबै पक्षबीच करिब १ अर्ब रुपैयाँ बराबरको वित्तीय तथा प्राविधिक सहयोगमा जर्मन विकास बैंक (KfW) को सहायतामा निर्माण हुन लागेको मातृत्व तथा स्त्रीरोग विशेष अस्पतालबारे छलफल भएको थियो।
नगरप्रमुख गिरीले नगरपालिकाको तर्फबाट अस्पताल स्थापना प्रक्रियामा सहजता र समन्वय गरिँदै आएको जानकारी दिँदै आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने आश्वासन दिएका छन्।
थापाथलीस्थित मातृत्व अस्पतालको ‘साटेलाइट’ अस्पतालका रूपमा निर्माण हुन लागेको उक्त अस्पतालमा २५ शय्या रहनेछ। परियोजनाको प्रारम्भिक डिजाइन KfW ले स्वीकृत गरिसकेको छ भने ‘ग्लोबल टेन्डर’ प्रक्रिया पनि अघि बढाइएको छ।
नेपाल सरकारले Thankot प्राथमिक अस्पताल परिसरभित्र २३ रोपनी जग्गा यसका लागि उपलब्ध गराइसकेको छ। नगरपालिकाको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार र KfW ले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरिसकेका छन्।
यसबर्षै परियोजनाको डिजाइन र ग्लोबल टेन्डर प्रक्रियालाई अगाडि बढाउन आवश्यक फिल्ड अध्ययन पनि सम्पन्न गरिएको छ। परियोजना सम्पन्न भएपछि यसले चन्द्रागिरी र आसपासका क्षेत्रका महिलाहरूलाई गुणस्तरीय मातृत्व तथा स्त्रीरोग सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।



