तराईका धेरै क्षेत्रमा ढिलो मनसुनका कारण करिब २७ हजार हेक्टर जमिन यसपालि बाँझो बसेको कृषि मन्त्रालयका तथ्याङ्कले जनाउँछ। मधेश प्रदेशमा मात्रै गत वर्षको तुलनामा १० प्रतिशत खेतीयोग्य भूमि यस वर्ष प्रयोगमा आउन सकेन।
क्षति र उत्पादन घट्ने संकेत
दशैंको समयमा असोज तेस्रो सातातिर परेको अबेलाको वर्षाले कोशी प्रदेशमा करिब ५६ हजार मेट्रिक टन धान क्षति गरेको सरकारी विवरणले देखाएको छ। सो समयमा धानसहित पशुधन र कृषि पूर्वाधारमा पनि ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति पुगेको मूल्याङ्कन गरिएको छ।
गत वर्ष देशभर करिब ५९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो, जसमा करिब ६ लाख टन चैते धान थियो। त्यतिबेला धानको उत्पादकत्व ३.८ टन प्रतिहेक्टर थियो। यस वर्ष उत्पादन दर पनि घट्ने अनुमान गरिएको छ।
मूल्य घट्यो, किसान दबाबमा
उत्पादन घट्दा पनि धानको मूल्य भने उल्टै सस्तो भएको छ। गत वर्ष प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको धान अहिले ३० रुपैयाँभन्दा तल झरेको छ। तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा धान आयातमा भ्याट लगाइएपछि किसानले राम्रो मूल्य पाएका थिए। तर पछिल्लो सरकारले भ्याट हटाएर आयात सजिलो बनाएको कारण किसानको आम्दानी घटेको हो।
विज्ञहरूको भनाइमा अहिलेको मूल्य घटेपनि हिउँद सकिँदै जाँदा चामलको मूल्यमा वृद्धि हुन सक्छ। काट्ने बेला परेको वर्षाले धान भिजेकाले गुणस्तरीय चामलको मात्रा घट्ने सम्भावना देखिएको छ।
खाद्यान्न अभावको डर छैन
उत्पादन घटेपनि नेपालमा खाद्यान्न अभाव वा चरम महँगीको अवस्था आउने सम्भावना न्यून छ। किनभने भारत, जसले विश्वको ४० प्रतिशत चामल निर्यात गर्छ, सँग नेपालको खुला सीमा र स्थिर विनिमय दरले बजार सन्तुलित राख्नेछ।
नेपालले भारतबाहेक चीन, भियतनाम, अमेरिका, दक्षिण कोरिया र थाइल्यान्डजस्ता मुलुकबाट पनि चामल आयात गर्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।