३९६ स्थानीय तहमा अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गरिँदै
काठमाडौं, १५ मंसिर । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवन बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो ।
आज (सोमवार) विभिन्न मन्त्रीहरू, संघीय सांसदका साथै स्थानीय तहका प्रमुखहरूले यी सबैको एकसाथ शिलान्यास गर्ने कार्यक्रम रहेको छ, जसअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्दै छन् । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवन र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
सरकारले यसै आर्थिक वर्षमा सातओटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सातओटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल भवनको शिलान्यास हुन लागेको राससमा उल्लेख छ । हाल मुलुकमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ ।
स्थानीय तहमा बन्ने अस्पताल भवनको संघीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेछन् । यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन बनाउन लागिएको हो ।